निःशुल्क गाडीमा अस्पतालसम्म आएर खोप लगाउन पाएकोमा सन्धिखर्क–१२ का ९४ वर्षीय गौरीनारायण श्रेष्ठ खुसी छन्। ‘खोप दिएर मात्र भएन, यति टाढा आउने उपाय थिएन,’ उनले भने, ‘अध्यक्ष बाबुले यहाँसम्म ल्याउने व्यवस्था गरिदिनुभयो, हामी असाध्यै खुसी छौं।’ युवा भएर पनि वडाध्यक्षले गरेको कामबाट सबैले पाठ सिक्नुपर्ने उनको भनाइ छ।

वडाध्यक्षले निःशुल्क व्यवस्था गरेको गाडी चढेर खोप लगाउन आएका ९२ वर्षीय इन्द्रप्रसाद श्रेष्ठले वडाध्यक्षले छोराछोरीले भन्दा बढी सेवा दिएको बताए। ‘धेरै गतिलो बाबु हुनुहुन्छ, यो जमानामा कसैले गर्दैन,’ उनले भने, ‘हामी बुढाबुढीलाई अरू के चाहिन्छ र ?’

सन्धिखर्क नगरपालिका–१२ का वडाध्यक्ष नारायण खड्का सामाजिक कार्यले चर्चामा आइरहने व्यक्ति हुन्। आफ्नो सम्पूर्ण तलब र भत्ता सामाजिक क्षेत्रमा खर्चिंदै आएका वडाध्यक्ष खड्काले यसपालि आफ्ना वडाका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन निःशुल्क गाडीको व्यवस्था गरिदिएका छन्। यही फागुन २३ गतेदेखि नेपाल सरकारले ६५ वर्ष पुगेका नागरिकलाई खोप लगाउन सुरु गरेको छ।

सन्धिखर्क–१२ का नागरिकलाई अर्घाखाँची अस्पलाल सन्धिखर्कमै खोपको व्यवस्था गरिएको छ। टाढाबाट आउन गाह्रो हुने र खोप लगाइसकेपछि कुनै लक्षण देखियो भने अप्ठ्यारो हुने भएकाले अध्यक्ष खड्काले सबैलाई निजी खर्चमै गाडीको व्यवस्था गरेका छन्। ‘डिभर्नाबाट यहाँ आउन वृद्धवृद्धालाई गाह्रो पर्छ,’ उनले भने, ‘मेरो थोरै सहयोगले सहज हुन्छ भनेर मैले यसो गरेको हुँ र गर्नेछु।’ कोरोना खोपले कसैलाई असर पनि पुर्‍याउने भएकाले सचेतना अपनाउनु पर्ने उनको भनाइ छ।

उनले खर्च व्यवस्थापन मात्र होइन, आफू चढ्ने निजी बलेरोमा समेत वृद्धवृद्धा बोकेर आफैं हिँडेका छन्। आफ्नो तलब र भत्ताको खर्चमा तीनवटा हाइस र एउटा बलेरोमा वडाका करिब १ सय ५० वृद्धवृद्धालाई अध्यक्ष खड्काले स्वास्थ्य कार्यालयसम्म ल्याएका हुन्।

स्थानीय स्वास्थ्य संस्थामार्फत दोस्रो चरणमा ६५ वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाउन सुरु गरिएको छ। अर्घाखाँचीका ४२ ओटा स्वास्थ्य संस्थामार्फत खोपसेवा प्रदान गरिएको हो। आइतबार पहिलो दिन ५ हजार ३ सय ४३ जनाले खोप लगाएका थिए।



from Nagarik News - Home
Previous Post Next Post