
भक्तपुरको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रीमा दर्शन गर्न आउने भक्तजनले अनिवार्य मास्क लाउनुपर्ने भएको छ। हजारौंको संख्यामा मन्दिरमा आउने भक्तजनलाई ध्यानमा राखेर सरकारले तोकेका सबै स्वास्थ्य मापदण्ड पालना गर्दै दर्शनको व्यवस्था मिलाइएको उक्त मन्दिरको संरक्षण तथा विकास समितिले जनाएको छ।
भक्तजनले सेनिटाइजर लगाउने र भौतिक दूरी कायम राख्नुपर्ने गरी लाइन व्यवस्था गरिएको महाशिवरात्री पर्व मूल समितिका संयोजक तथा समितिका वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर खाइतूले जानकारी दिए। महाशिवरात्रीका सम्पूर्ण तयारी पूरा भएको उनले जनाए। यो वर्षको महाशिवरात्री बिहीबार (आज) परेको छ।
महाशिवरात्रीका दिन सुरक्षा व्यवस्थाका लागि महानगरीय प्रहरी वृत्त जगातीबाट सुरक्षाकर्मी तथा विभिन्न संघसंस्थाबाट स्वयंसेवक परिचालन गरिने समितिले जनाएको छ। नेपाली सेनाका चिकित्सक र नर्सहरूको स्वास्थ्य शिविर, नेपाल मानव सेवा संघले प्रसाद वितरण गर्ने जनाइएको छ। यस्तै नेपाल रेडक्रस सोसाइटी सिपाडोल
उपशाखा र नेपाल मानव सेवा संघको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिनेछ। समितिले नागा बाबालाई मन्दिर परिसरमा धुनी जगाई बस्न दाउराको व्यवस्था गरेको पनि जनाएको छ।
महाशिवरात्री दर्शनका लागि भारत तथा नेपालका विभिन्न स्थानबाट साधुसन्त आएका छन्। नागा बाबा, भंगी, जोगी र अघोरी बाबालगायत साधुसन्तले मन्दिरको क्षेत्र रोमाञ्चित बनेको छ। परम्पराअनुसार जोगी, सन्त, महन्थलाई स्वागत तथा बिदाइ समितिले गर्ने गरेको छ।
वार्षिक कार्यक्रमअनुसार शिवरात्रिका दिन सर्वसाधारण भक्तजनका लागि मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि राति १२ बजेसम्म खुला हुने जनाइएको छ। उक्त मन्दिरको चारै ढोका वर्षको तीन दिन मात्र सर्वसाधारण भक्तजनका लागि खुला हुने र बाँकी दिन पुजारीका लागि मात्र खुला रहने समितिले जनाएको छ।
from Nagarik News - Home