नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशले महासंघमा आवद्ध १२ वटा संस्थाका संस्थापक अध्यक्षहरुलाई सम्मान गरेको छ। विधागत संस्था स्थापना गरि नेपाली पत्रकारीता क्षेत्रमा विधागत पत्रकारीताको विस्तार र विकासमा योगदान पुर्‍याएकोमा १२ संस्थाका संस्थापक अध्यक्षहरुलाई सम्मान गरेको हो।

संस्थापक अध्यक्षहरु चलचित्र समीक्षक समाज नेपालका रमण घिमिरे, दक्षिण एसियाली खेलकुद पत्रकार संघका स्वर्गिय ईश्वरमान सिंह, पत्रकारिता अनुसन्धान तथा तालिम समाज–श्री आचार्य, एभरेष्ट प्रेस क्लबका शिवप्रसाद खड्का, नेपाल पत्रकार मञ्चका वैकुण्ठप्रसाद भण्डारी, कार्टुनिष्ट क्लब नेपालका अशोकमान सिंह, नेपाल चलचित्र पत्रकार संघका भरत शाक्य, पर्यटन पत्रकार मञ्चका विद्रोही गिरीलाई सम्मान गरिएको थियो।

यसैगरी अनलाइन पत्रकार संघ नेपालका केपी ढुंगाना, नेपाल खेलकुद पत्रकार मञ्चका सीताराम अग्रहरी, फोटो जर्नालिष्ट क्लबका चन्द्रशेखर कार्की र पत्रकारिता विकास समाजका केदार खड्कालाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

सम्मान कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका गोविन्द आचार्यले अग्रजहरुको सम्मान गर्ने परम्पराको प्रारम्भ गरेकोमा आयोजकलाई धन्यवाद दिए। उनले महासंघ निर्वाचन मार्फत नयाँ नेतृत्वको चयनको चरणमा प्रवेश गरिसकेको भन्दै निर्वाचनको समयमा जुन विचार समूहबाट उम्मेद्वार बने पनि नेतृत्वमा पुगेपछि उनीहरूसँगै लड्ने साहस बोक्नुपर्ने बताए।

निर्वाचनको बेलामा वैचारिक आधारमा प्रतिष्पर्धा गरिएपनि निर्वाचित भएपछि महासँघको उद्देश्यमा क्रियशिल हुनुको अर्को विकल्प नहुने भन्दै उनले भने, 'निर्वाचनको बेला जसको टिकट लिएर निर्वाचित भए पनि त्यसपछि प्रेस स्वतन्त्रता र श्रमजीवीको हक रक्षाका लागि तीनै टिकट दिने विरुद्ध उभिन सक्नेले मात्र महासँघको नेतृत्वमा जाने अभ्यास गर्नुहोला।'

महासंघका उपाध्यक्ष विपुल पोखरेलले पहिलो पटक महासंघ प्रत्यक्ष निर्वाचन प्रणालीमा गएको र अबको निर्वाचन हिजोको जस्तो कुनै समूह विशेषको मात्र दवदवा हुन नसक्ने बताए। नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले महासंघको निर्वाचनै हुन नदिने खेल भइरहेकाले सबै पत्रकार एक ठाउँमा उभिएर त्यसको प्रतिवाद गर्नुपर्ने बताए।

एसोसिएट प्रदेशका अध्यक्ष केपी ढुंगानाले महांघको निर्वाचनमा दलगत निकटताभन्दा सञ्चारकर्मीले विवेक प्रयोग गरे महासंघको नेतृत्वमा आउन बालुवाटार, पेरिसडाँडा र बुढानिलकण्ठ धाउने काम भोलीका दिनमा बन्द हुने बताए।

एसोसिएट संस्थाहरुको तर्फबाट बोल्दै समिक्षक समाजका अध्यक्ष यज्ञशले महासंघमा विधागत प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिएका थिए। केवल निर्वाचनको बेलामा मात्र भेला गर्नेक्रम हटाउनुपर्नेमा उनको जोड थियो।

संस्थापक अध्यक्षहरुको तर्फबाट बोल्दै रमण घिमिरेले महासंघलाई सञ्चारकर्मीहको साझा थलो बनाउन जोड दिएका थिए।



from Nagarik News - Home
Previous Post Next Post