राष्ट्रियसभा सदस्य कोमल वलीले नेता रघुजी पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा मंगलबार दर्ता गरेकी छिन् । वलीले पन्तले फागुन १५ मा पूर्व एमाले कार्यकर्ता भेलामा आफूलाई होच्याउने गरी लाञ्छना लगाएको दाबी गरेकी छिन् । व्यक्तिगत चरित्र, आचरण, नैतिकता, ख्यातिलाई होच्याउने गरी गाली बेइज्जती गरी चरित्र हत्या गरेको उनको दाबी छ ।

मुलुकी अपराध संहिताअनुसार सजाय गरी बेइज्यती गरेकाले थप एक वर्ष कैद र १० हजार रुपैयाँ जरिबानासमेत गरी हदैसम्मको सजाय गरिपाउँ भन्ने वलीको मागदाबी छ । कसुरको गम्भीरता र प्रतिष्ठामा परेको असर तथा विद्युतीय तथा अन्य आमसञ्चरमाध्यमबाट भएको बेइज्जतीसमेतलाई विचार गरी क्षतिपूर्ति तथा मुद्दामा लागेको खर्चसमेत भराइ पाउन माग गरेकी छिन् ।

नेता पन्तले एक कार्यक्रममा ‘हाम्रो पार्टीमा २०औं वर्षदेखि विवाह नै नगरी महिलाहरू लागेका छन्, केपीको पार्टीमा पनि त्यस्ता महिला छन् । तर तिनले टिकट पनि पाएनन् । कोमल वलीले यसो सारी सरक्क सर्काएर गोडा, पिडौंला देखाएर पाइल जान पाम भनेपछि सांसद् त तिनै भइन’ भन्ने अभिव्यक्ति दिएका थिए । नेता पन्तको त्यही भनाइविरुद्ध वलीले गाली वेइज्जती मुद्दा दर्ता गरेकी हुन् ।

‘मेरो इज्जतमा धक्का पुर्‍याउने नियतले वा धक्का पुग्न सक्छ भन्ने जानीजानी मेरो व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउने गरी गाली बेइज्जती र चरित्र हत्या भएको छ,’ फिरादपत्रमा उनको दाबी छ ।



from Nagarik News - Home
Previous Post Next Post