हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा बिहीबार (१९ गते) सम्म बन्द हुने भएको छ। शनिबार बिहानदेखि चारदिनका लागि यातायात सेवा बन्द भए पनि तोकिएको समयमै काम सम्पन्न गर्न नसकिने अवस्था देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले सूचना जारी गर्दै आगामी १९ गते बिहीबारसम्म बन्द हुने जनाएको छ।

विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको कामलाई तीव्रता दिन बिहीबारसम्म पूर्ण रूपमा यातायात सेवा बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले बताए। यसअघि चैत १७ गते मंगलबार खोल्ने गरी शनिबारदेखि बन्द भएको थियो। उत्तरी–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले दुवै जिल्लाको सीमा क्षेत्रमा पर्ने काभ्रेभिर र कैकुखोलामा बन्द गरिएपछि यात्रुलाई वैकल्पिक पैदलमार्ग हुँदै आवतजावतका गर्न अनुरोध गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङमा चैत ९ गते प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलको अध्यक्षतामा सरोकारवालाको बैठकले आवतजावत नरोकी स्तरोन्नतिको काम अघि बढाउन नसकिने भन्दै सडक बन्द गरेको जनाइएको छ। बेनी–जोमसोम ७६ किलोमिटर सडक चार खण्डमा स्तरोन्नतिको काम भइरहेको छ। उत्तरी म्याग्दीको आन्तरिक यातायात सेवामा भने असर पर्ने छैन।



from Nagarik News - Home
Previous Post Next Post