
राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी काठमाडौं उपत्यकावासीलाई नयाँ वर्षको उपहार भएको बताएकी छन् । मेलम्ची खानेपानी वितरणको शुक्रबार उद्घाटन गर्दै उनले भनिन्, ‘नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा नेपालको प्राचीन सांस्कृतिक सहर र राजधानीबासीलाई यो आयोजना एक उपहार हुन पुगेको छ । यसबाट जनताको खुसी बढेको छ भन्ने मलाई लाग्छ।’
राष्ट्रपति भण्डारीले भृकुटीमण्डपमा निर्माण गरिएको ढुंगेधाराको टुटी खोलेर उद्घाटन गरेकी थिइन् । मेलम्ची खानेपानी आयोजनाको पानी गत चैत १५ गतेदेखि घरघरमा पठाउन सुरु गरे पनि औपचारिक रुपमा शुक्रबार उद्घाटन गरिएको हो।
राष्ट्रपति भण्डारीले मेलम्ची खानेपानी आयोजनाको परिकल्पना पाँच दशकअघि नै गरिएको भए पनि तीन दशकअघि तत्कालीन सरकारले विस्तृत सम्भाव्यता अध्ययन गरेपछि आयोजनाको पारुप तयार भएको बताइन्। ‘यस अवसरमा म मेलम्ची आयोजनाका परिकल्पनाकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु,’ उनले भनिन्, ‘मुलुकमा प्रजातन्त्र स्थापना भएसँगै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याई वितरण गर्ने सार्वजनिक प्रतिबद्धता जाहेर गरेपछि यस आयोजनाले थप महत्व र प्रचार पायो । यसबाट मुलुकको नेतृत्व तहलाई यो आयोजना कार्यान्वयन गर्न प्रेरणा मिलेको थियो।’
‘मुलुकमा प्रजातन्त्र स्थापना भएसँगै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याई वितरण गर्ने सार्वजनिक प्रतिबद्धता जाहेर गरेपछि यस आयोजनाले थप महत्व र प्रचार पायो । यसबाट मुलुकको नेतृत्व तहलाई यो आयोजना कार्यान्वयन गर्न प्रेरणा मिलेको थियो।’
राष्ट्रपति भण्डारीले मेलम्ची खानेपानी आयोजना कार्यान्वयनका लागि मात्रै एक दशकभन्दा धेरै समय लागेको बताइन्। ‘यो आयोजना ठोस कार्यान्वयन हुन एक दशक प्रतीक्षा गर्नुपर्यो । केपी शर्मा ओली नेतृत्वको सरकारको दृढ इच्छाशक्ति र तत्परताको कारण यो आयोजना सम्पन्न भएको छ,’ उनले भनिन्। राष्ट्रपति भण्डारीले आयोजनालाई सफलतापूर्वक सम्पन्न गराउन सुरुवातदेखि संलग्न हुने राजनीतिज्ञ, योजनाविद्, प्राविधिक, दातृनिकाय तथा राष्ट्रसेवकको योगदानको स्मरण गर्दै आभार व्यक्त गरिन्।
कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सिन्धुपाल्चोकको याङ्ग्री र लार्के खोलाको पानी पनि उपत्यकामा ल्याउने बताए। ‘झन्डै तीन दशक लामो प्रतीक्षापछि यो विन्दुमा आइपुग्न सफल भएका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘कोभिड १९ ले विश्व थला परेको बेला पनि नेपालमा पूर्वाधार निर्माण कार्यले एकपछि अर्काे सफलता हात परेको छ। कोभिडको लडाइँसँगसँगै पूर्वाधार विकासलाई पनि अगाडि बढाउँदै आएका छौं। त्यसैले अब पूर्वाधार विकासले फड्को मार्नेछ।’
कार्यक्रममा काठमाडौं महानगर–पालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यका खानेपानी लिमिटेडले सेवाग्राहीसँग सेवा प्रवाह नगरीकनै शुल्क उठाउने गरेको भन्दै यस्तो विभेदकारी नीति तत्काल हटाउनुपर्ने माग गरे। ‘केयुकेएलले पानी उपलब्ध नगराईकनै सेवाग्राहीसँग खानेपानीको सेवाशुल्क र जरिवाना लिँदै आएको छ,’ उनले भने, ‘म प्रधानमन्त्रीसँग यस्तो खालको समस्या तत्कालै समाधानका लागि निर्देशन दिन अनुरोध गर्छु।’ यसको प्रतिक्रियामा प्रधानमन्त्री ओलीले सेवाग्राहीले सेवा प्राप्त नगरी कुनै पनि खालको सेवाशुल्क लगाउन नपाइने बताए। ‘जहाँ कुनै पनि सेवा दिइएको छैन त्यहाँ सेवा शुल्क र जरिवाना लिने कुरै हुँदैन । कसैले लिएको छ भने सेवाग्राहीसँग क्षमायाचना गर्न समेत अनुरोध गर्छु’, ओलीले भने।
मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यकामा आएसँगै खानेपानीको नयाँ युग सुरु भएको बताए। ‘लामो समयदेखिको प्रतीक्षाको आज अन्त्य भएको छ,’ उनले भने, ‘मेलम्ची कथा हो, यो कहिल्यै आउँदैन भन्ने निराशावादी सोचको समेत अन्त्य गरेका छौं।’ उनले वर्षाअगाबै मेलम्चीको पानी मुख्य हेडवक्र्सबाट आउने दाबी गरे । मेलम्ची आयोजनाको ११ सय किलोमिटर पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ । आयोजनाले करिव दुई सय किलोमिटर पाइप लाइनको परीक्षणसमेत सकिसकेको छ।
आयोजनाको पानी नयाँ पाइपलाइपबाट करिब एक लाख १० हजार घरधुरीमा वितरण गरिनेछ। आयोजनाले ८० हजार घरधुरीमा नयाँ पाइप जडान सम्पन्न गरिसकेको छ । अहिले १५ हजार घरधुरीमा पाइप परीक्षण भइरहेको छ। आयोजनाबाट पहिलो चरणमा १७ करोड लिटर पानी ल्याइँदैछ । दोस्रो चरणमा याङ्ग्री र लार्के आयोजनाबाट थप ३४ करोड लिटर पानी उपत्यकामा ल्याउने योजना छ।
from Nagarik News - Home