आमाले छोरा भिषणलाई भनिन् – बाबु, तेरी स्वास्नी बाँझी हुने छेकछन्द छ। सन्तान भएनन्। अब अर्को बिहे गर्नुपर्छ।

भिषणले जवाफ दिएका थिए – समय के बितेको छ र? पर्खौँ न।

तर समयले पर्खेन। सबै मिलेर बाँझी भनेर उनकी श्रीमतीलाई घरनिकाला गरे। समय बित्यो।

एकदिन एउटा निम्तो कार्ड देखाउँदै आमाले छोरालाई भनिन् – बाबू, तेरी पहिलेकी श्रीमतीले छोरा पाएकी छ रे। छोरा जन्मिएको खुसीयालीमा पार्टीको व्यवस्था पनि गरेकी रहिछे । हामीलाई पनि निमन्त्रणा कार्ड पठाएकी छे। हामीलाई देखाउन पो त्यत्रो खर्च गरेकी हो कि!

नम्र हुँदै भीषणले भन – आमा, सुजता असल नारी थिइन्। हामीले देखिसहेनौँ। अर्काको खुट्टामा हिँड्दा लडिंदो रहेछ। बिचरी उनले थेग्न सकिनन् र मर्नुभन्दा बहुलाउनु निको मानिन्। उनको सन्तान भयो भने खुसीकै कुरा हो।

आमाले पनि पश्चाताप मान्दै भनिन् – सुजताको पाप लागेको होला। पहिले बाजेपुर्खाले गरेको पापको फल नाति–नातिनाले खेप्नुपथ्र्याे रे। अहिले आफैले खेप्नुपरेको छ । सुजतापछि आएकी दोस्री दुलहीले लुगा मात्रै फेरेर गई। टाउको भए टोपी लाउन के खाँचो भनियो। आँसुले पिरोल्ने रहेछ।

छक्क पर्दै भीषणले आमालाई सोध्यो– आमा, साँच्चै उनले छोरा पाएकै हुन् त! नाइँ म त पत्याउँदिन के!

आमाछोराको कुराकानी चल्दै थियोे।अचानक छेउघरे कान्छी आइपुगिन्। उनले भीषणलाई औल्याउँदै भनिन्– बुहारीले छोरा पाएकी रहिछ । तपाईंहरूले देखिसहनु भएन। पर्खिनसके सबैको दिन आउँदो रहेछ।

आमाछोराले केही भनेनन्। छेउघरे कान्छी त्यत्तिकै बाटो लागिन्।

छोराले आमालाई सम्झाउँदै भन्यो–आमा, नरुनुस्। अब रोएर के गर्नु र !

फोनको घन्टी बज्यो। अन गर्नासाथ उताबाट आवाज आयो– भीषण, मैले निम्तो कार्ड पठाएकी थिएँ। अझै आइपुग्नु भएन त। मैले तपाईँलाई पराई ठानेकी छैन क्यार! लोग्नेस्वास्नी पो बनिरहन सकिएन त, साथी बन्न त सन्तानले छेक्दैन नि ।छिटो आउनु यहाँ कार्यक्रम सुरु हुन लाग्यो।



from Nagarik News - Home
Previous Post Next Post