यातनापीडित समाजले द्वन्द्वको समयमा यातना पाएकाहरूको पहिचानका लागि सरकारको ध्यानाकर्षण गराएको छ। समाजले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै द्वन्द्वको समयमा राज्य र विद्रोही पक्षले यातना दिएकाको खोजीका लागि सरकारको ध्यानाकर्षण गराएको हो।

साथै समाजले यातनापीडितको शारीरिक तथा मानसिक स्वास्थ्योपचार गर्दै उनीहरूका परिवारको जीविकोपार्जन र बालबालिकाको शिक्षादीक्षाको व्यवस्था गरिदिन माग गरेको छ। समाजले द्वन्द्वको समयमा यातना पाएका र धनजनको क्षति भएकाहरू प्रायः सबै ग्रामीण क्षेत्रका रहेको जनाउँदै उनीहरू राज्यको सहयोगबाट टाढा रहेको बताएको छ। उनीहरूको अवस्था अहिले पनि शारीरिक र मानसिक रूपमा विक्षिप्त भएर जिउन बाध्य भएको समाजका गण्डकी प्रदेश अध्यक्ष जयकृष्ण पोखरेलद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा उल्लेख छ।

द्वन्द्वको समयमा यातना पाएर पीडित बनेका कास्कीमा ३९ जना रहेको समाजले जनाएको छ। उनीहरूलाई राहतका लागि सिफारिस गरे पनि राहत भने नपाएको समाजका अध्यक्ष पोखरेलले जानकारी दिए। उनका अनुसार गण्डकी प्रदेशमा भने यातनापीडितको यकिन संख्या पत्ता लाग्न सकेको छैन। यातनापीडितको पहिचान र अवस्था कास्कीबाट पत्ता लगाउन सुरु गरिए पनि अन्य जिल्लामा पुग्न नसक्दा यकिन तथ्यांक लिन नसकिएको उनको भनाइ छ। ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले यातनापीडितको पहिचान र उनीहरूको अवस्था पत्ता लगाएर उनीहरूको अवस्था सुधारका लागि सरकार प्रतिबद्ध रहेको आश्वासन दिएको अध्यक्ष पोखरेलले जानकारी दिए।



from Nagarik News - Home
Previous Post Next Post