जेठ २२ गते हुने भनिएको भन्सार एजेन्टको लिखित परीक्षा स्थगन भएको छ। भन्सार विभागले एक सूचना जारी गर्दै कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै देशका अधिकांश जिल्लामा लागू गरिएको निषेधाज्ञाका कारण लिखित परीक्षा स्थगन गरिएको जनाएको हो।

‘कोभिड–१९ बाट सिर्जित असमान्य परिस्थितिका कारण उक्त परीक्षा स्थगन गरी लिखित परीक्षा हुनुभन्दा कम्तीमा १५ दिनअगाडि सूचना प्रकाशन गरिनेछ। लिखित परीक्षासम्बन्धी सूचना गोरखापत्र र विभागको वेबसाइटमा समेत राखिनेछ’, विभागले सार्वजनिक गरिएको सूचनामा भनिएको छ।

गत चैत दोस्रो साता विभागले ठूलो संख्यामा भन्सार एजेन्टको माग गरेको थियो। बीस वर्षदेखि नयाँ भन्सार एजेन्ट थप हुन नसकेको भन्दै एकैपटक ६६० एजेन्टका लागि इजाजत खुला गरिएको थियो। भन्सार नियमावली, २०६४ को नियम ३७, उपनियम (१) बमोजिम भन्सार एजेन्टको इजाजतपत्रका लागि २१ वर्ष उमेर पूरा भई तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले वैशाख ५ गतेसम्म विभागको वेबसाइटमार्फत अनलाइन दरखास्त दिन सक्ने गरी आवेदन खुला गरिएको थियो। वैशाख ५ गते र दोब्बर दस्तुर तिरी १२ गतेसम्म आवेदन खुला गरिएको थियो। आवेदन दिने समय सकिए पनि कोभिडका कारण लिखित परीक्षा स्थगन भएको हो।

दुई दशकयता भन्सार एजेन्ट नियुक्त गर्न नसक्दा हाल १७० जना एजेन्ट मात्रै रहेका छन्। विभागले नयाँ माग गरेको एजेन्टका लागि लोकसेवा आयोगमार्फत लिखित तथा मौखित परीक्षा लिने तयारी गरेको थियो। यसअघि भन्सार एजेन्टको अनुमतिपत्र दिने परीक्षा सञ्चालन गर्न खोज्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि परीक्षा रोकिएको थियो। अदालतले ऐनमा व्यवस्था गरेरमात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो। भन्सार विभागले ऐन परिमार्जन गरी परीक्षा लिन लागिएको जनाएको छ। भन्सार एजेन्टले आयात निर्यातमा व्यापारी र भन्सार कर्मचारीबीच पुलको काम गर्छन्।



from Nagarik News - Home
Previous Post Next Post