सरकारले आउँदो साउन १ देखि सबै श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार रूपैयाँ पुर्‍याउने निर्णय गरेको छ। सरकारले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ हुने घोषणा गरेको हो। जसअनुसार आधारभूत पारिश्रमिक मासिक नौ हजार तीन सय ८५ रूपैयाँ र महँगी भत्ता पाँच हजार ६ सय १५ रूपैयाँ तोकिएको छ।

नयाँ निर्णय अनुसार श्रमिकले दैनिक पाँच सय ७७ रूपैयाँ पारिश्रमिक पाउने छन्। एक घन्टा काम गर्दा श्रमिकको पारिश्रमिक ७७ रूपैयाँ हुनेछ। तोकिएको पारिश्रमिकका अतिरिक्त श्रम ऐन २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ र प्रचलित कानुनबमोजिम श्रमिकले पाउने सञ्चयकोष र उपदान लगायतका सुविधा रोजगारदाताले उपलब्ध गराउनु पर्नेछ।

श्रमिकको पारिश्रमिक हरेक दुई–दुई वर्षमा पुनरावलोकन गर्ने गरिन्छ। तर गत वर्ष कोरोना महामारीका कारण पारिश्रमिक वृद्धि हुन सकेको थिएन। यतिखेर श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार चार सय ५० रूपैयाँ छ। जुन पारिश्रमिक निकै थोरै भएको गुनासो रहँदै आएको छ। स्वदेशमा न्यून पारिश्रमिक पाउने भएकाले वैदेशिक रोजगारीमा जानु परेको श्रमिकहरूले गुनासो गर्दै आएका छन्।



from Nagarik News - Home
Previous Post Next Post