कोरोना महामारीले मानवीय जनजीवन तथा समग्र अर्थतन्त्र आक्रान्त भइरहेको बेला सेयर बजार भने दिनहुँ उकालो लाग्ने क्रम जारी छ। आइतबार ५४ अंकले बढेको सेयर बजार मापक परिसूचक नेप्से सोमबार पनि बढेको छ। यसदिन २०.७१ बिन्दुले बढेपछि नेप्से २७५९.२२ अंकमा पुगेको छ।

एक करोड ९० लाख ५६ हजार दुई ३६ कित्ता सेयर खरिदबिक्री हुँदा नौ अर्ब ५७ करोड ६३ लाख ६१ हजार एक ३९ रूपैयाँ बराबरको कारोबार भयो। यसदिन होटल तथा पर्यटन, विकास बैंक र म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ उपसमूह बाहेक सबैको मूल्य बढ्यो। अघिल्लो दिनझै सोमबार रुरु जलविद्युत्को सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लाग्यो।

त्यस्तै राधी विद्युत् कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, गुँरास लघुवित्त वित्तीय संस्था, वरुण हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रो, नेपाल फाइनान्स, रिडी हाइड्रोपावर डेभलपमेन्ट, खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढ्यो। आइतबार १० अर्ब ४० करोड रूपैयाँको सेयर कारोबार भएको थियो।

महामारीको त्रास कायमै रहेको बेला बढेको सेयर बजारलाई विज्ञहरूले कृत्रिम वृद्धिको रूपमा लिएका छन्। यतिखेर बढ्नुपर्ने कुनै कारण नभए पनि केही स्वार्थी समूहले चलखेल गरेको हुन सक्ने विज्ञ लगानीकर्ताको भनाइ छ। महामारीका कारण अधिकांश कम्पनीको लाभांश क्षमता कमजोर छ।

यस दिन विशाल बजार कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १.८४ प्रतिशतले घटेको छ। त्यस्तै, श्री इन्भेस्टमेन्ट फाइनान्सको १.७६, ज्योति विकास बैंकको १.७४, आइसिएफसी फाइनान्सको १.४८ र हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्य १.४७ प्रतिशतले घटेको छ।



from Nagarik News - Home
Previous Post Next Post