नेपालमा एक महिनाअघि तीव्र रूपमा कोरोना संक्रमण भएको अवधिको तुलनामा शनिवार १६ प्रतिशत संक्रमणदर घटेको छ। एक महिनाअघि नेपालमा कोरोना संक्रमण दर ४४ देखि ४६ प्रतिशत थियो। शनिबार यो दर घटेर ३० प्रतिशतमा पुगेको छ।

गत २४ घण्टामा परीक्षण भएका १४ हजार ७ सय ५२ वटा नमुनामध्ये ४ हजार ४ सय ८७ जनामा कोरोना पुष्टि भएको हो। थपसहित नेपालमा कुल संक्रमित संख्या ५ लाख ५३ हजार ४ सय २२ जना पुगेका छन्। तीमध्येमा कोरोना संक्रमणको दोस्रो लहरयता मात्र ३ लाख ७ सय ३२ जना छन्।

गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १ सय १६ जनाको मृत्यु भएको छ। यीसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार १ सय ६३ जना पुगेका छन्। तीमध्येमा ४ हजार १ सय ३१ जनाको दोस्रो लहरयताको अवधि अर्थात् करिब दुई महिनाको अवधिमा मृत्यु भएको हो। नेपालमा हाल कोरोना संक्रमणबाट मृत्यु हुनेको दर १.२९ प्रतिशत छ।

हाल देशभरिमा १ लाख ११ हजार ५ सय ९ जना सक्रिय संक्रमित छन्। तीमध्येमा १ लाख ३ हजार ७ सय होम आइसोलेसनमा छन् भने ७ हजार ८ सय ९ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। गम्भीर लक्षण भएका १ हजार ६ सय १४ जनाको आइसियुमा र ४ सय ५७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।



from Nagarik News - Home
Previous Post Next Post