
किसान र खाद्य अधिकारका लागि कार्यरत ४ निकायले कोरोना भाइरसले विश्व नै आहत भएको परिस्थितिमा सीमान्तकृत तथा विपन्न परिवारमा तत्काल खाद्य आपूर्ति गर्न र मुलुकमा दीर्घकालीन रूपमा खाद्य अभाव हुन सक्ने सम्भावनाबाट बच्न आवश्यक पूर्व तयारीमा जुट्न आग्रह गरेका छन्।
मानिस रोगलेभन्दा पनि भोकले मर्ने अवस्थामा पुगेकोतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै उनीहरूले यस्तो अवस्थामा जनतालाई भोकमरीबाट बचाउन तत्काल गर्नुपर्ने कामसमेत सुझाएका छन्। राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेत, फियान नेपालका कार्यकारी निर्देशक अशोक सिंह, खाद्य अधिकारका लागि राष्ट्रिय सञ्जालका सचिवालय सदस्य विदुर सुवेदी र राष्ट्रिय भूमि अधिकार मञ्च नेपालकी अध्यक्ष सरस्वती सुब्बाद्वारा संयुक्तरूपमा जारी विज्ञप्ति मार्फत यस्तो आग्रह गरिएको हो। ‘कोरोना र यसको रोकथामका लागि अनिवार्य ठानिएको लकडाउनका कारण भूमि, कृषि र खाद्य क्षेत्रमा तत्कालिन असर देखा परिसकेको छ। कृषि उत्पादन र खाद्यान्न आपूर्तिको प्रणाली छिन्नभिन्न भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
प्रदेश, जिल्ला र पालिकासम्मको आवतजावतलाई कडा गरिएका कारण डोको, डाँकी, साइकलमा तरकारी बेच्ने साना, सीमान्त किसानलाई समेत हिड्डुल गर्न प्रतिबन्ध छ। त्यसैगरी स्थानीय तहहरूसँगको समन्वयमा ज्यालादारीका मजदुर, भूमिहीन, सुकुम्वासी र सीमान्त किसानको लगत संकलन गरी खाद्यान्न सहायता र स्वास्थ सामग्री उपलव्ध गराउन पनि अपिल गरिएको छ।
from Nagarik News - Home