काठमाडौं बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सिर्जना कलेज अफ फाइन आर्टस्ले यही वैशाख १० देखि १५ गतेसम्म विभिन्न किसिमका चित्रको प्रदर्शनी ग¥यो।विभिन्न ३० कलाकारका चित्र, फोटो प्रिन्ट, मूर्ति, फोटोग्राफी डिजाइन र डिजिटल आर्ट लगायत प्रदर्शन गरिएको थियो।वरिष्ठ कलाकार शशिविक्रम शाह, वत्सगोपाल वैद्य र मदन चित्रकारका चित्र पनि प्रदर्शनमा राखिएका थिए ।
वरिष्ठ कलाकार शशिविक्रम शाहले पहिलेदेखि चित्रमा घोडामार्फत अभिव्यक्ति दिने गरेका छन्।शाहको ‘एक देश सात प्रदेश’ र ‘द इटर्नल हर्स’ शीर्षकका दुई चित्र प्रदर्शनीमा राखिएको थियो।‘एक देश सात प्रदेश’मा सातवटा घोडा एकै ठाउँमा गुजुल्टिएर कराएजस्तो देखाइएको छ भने ‘द इटर्नल हर्स’मा घोडालाई सिँगारिएको छ।
त्यस्तै, वरिष्ठ कलाकार वत्सगोपाल वैद्यले सन् १९९७ र १९९६ मा बनाएका दुई चित्र प्रदर्शनीमा राखिएको थियो।दुवैमा उनले गणेश भगवानलाई प्रस्तुत गरेका छन्।त्यस्तै, वरिष्ठ कलाकार मदन चित्रकारका ‘द फ्mेमिली’ र ‘इटस् प्ले–टाइम’ शीर्षकका दुई चित्र प्रदर्शनीमा राखिएका थिए।‘द फ्mेमिली’मा सिंहहरूको परिवार सँगै हिँडेको र इटस् प्ले टाइममा सिंहहरू खेलेको देखाएको छ ।
यस्तै, कलाकार विजय महर्जनको डिजिटल आर्ट (आर्ट फोटोग्राफी)लाई प्रदर्शनीमा राखिएको थियो।सिर्जना कलेजले यसअघि गरेको दुई प्रदर्शनीमा महर्जनको चित्रकला प्रदर्शनी गरिएको थियो।यसपटक भने उनले फोटोग्राफीको मद्दतबाट देवीहरू प्रस्तुत गरे।महर्जनले यसपटकको प्रदर्शनमा टाइपफेस पनि राखेका थिए।‘यसलाई मैले ‘ते–बा–चि’ नाम दिएको छु,’ महर्जन भन्छन्, ‘ते–बा–चिको अर्थ नेपालको अग्रगामी कलाकार तेजबहादुर चित्रकार हो ।’
साथै, प्रदर्शनीमा कलाकार देवेन्द्र पाण्डेले ‘पेपर क्राफ्ट’ राखेका थिए।सिर्जना कलेजमा अप्लाइड आर्ट पढाउने उनी विगत दुई दशकदेखि ‘पप–अप्स् पेपर वल्र्ड’ थिममा काम गर्दै आएका छन्।यसपालि उही थिमका ‘देसए मदु झ्या’, ‘कीर्तिपुरका गल्लीहरू’, ‘बौद्धनाथ’ र ‘मुस्ताङ’ शीर्षकका सातवटा पेपर क्राफ्ट प्रदर्शनीमा राखेका पाण्डे भन्छन्, ‘म माउन्ट पेपरबाटै पेपर क्राफ्टको डिजाइन गर्छु।एउटा सानो गल्तीले पूरै क्राफ्ट नै फ्याँक्नुपर्ने हुन्छ।अहिले राखिएका पेपर क्राफ्ट बनाउन लगभग चार महिना लाग्यो ।’
त्यस्तै, कलाकार निपूर्ण बज्राचार्यले यसपटक अस्तित्ववादको थिममा केही चित्रलाई प्रदर्शनीमा राखेका थिए।मान्छे समूहभित्र भए पनि एक्लो हुने कुरालाई उनले फोटोमा प्रस्तुत गरेका छन्।
प्रदर्शनीमा कृष्ण मानन्धर, श्यामलाल श्रेष्ठ, राधेश्याम मुल्मी, शारदामान श्रेष्ठ, शरद रञ्जित, राजेश गौतम, नविन्द्रराज भण्डारी, सुनील रञ्जित, गौतम मानन्धर, देविना मल्ल, लोक चित्रकार, नीलम ताम्रकार, सम्झना राजभण्डारी, भावना मानन्धर, चन्द्रश्याम डंगोल, मनीषलाल श्रेष्ठ, सौरगंगा दर्शनधारी, कृष्णगोपाल श्रेष्ठ, मुकेश श्रेष्ठ, सुर्जमुनि शाक्य, रोशन भण्डारी, मनोज शाक्य पन्जु, तारा तामाङ, दावा ओमु लामाका पनि कला राखिएको थियो।
from Nagarik News - Home