बडा दशैँको टीका अथवा यस्तै शुभ अवसरमा मान्यजनबाट ‘सन्तानले डाँडाकाँडा ढाकून्’ भन्ने आशीर्र्वाद दिने र लिने जमानाका मेरा पिताजी र दिलै खोलेर आशीर्वाद दिने मेरा हजुरबा। मेरा पिताजीका सन्तानले स्वदेशका डाँडाकाँडा मात्रै होइन, विश्व नै ढाक्नुमा केही आश्चर्य छैन। पिताजी एक सय एक वर्ष बाँच्नुभयो। यो एउटा अनौठो संयोगै मान्नुपर्ला, पिताजीको जीवनकालमा पिताजीलाई छोरा बुहारी, छोरी–ज्वाइँ, नाति, नातिनी–बुहारी, नातिनी, नातिनी–ज्वाइँ र पनाति सबै जोड्दा एक सय एक नै सन्तान प्राप्त भएछन्। पिताजीका करिब आधाजसो सन्तान अमेरिका, बेलायत, अस्टे«लिया, जापान, क्यानडातिरै बसोबास गर्दै छन्। कोही खुसीले त कोही बाध्यताले। विदेशमा नाम र दाम कमाएका सन्तान पिताजीका गर्भका विषय हुन्थे भने, गुजारामै अल्झिएका सन्तान निगरानीमा। कतिपय नातिनातिनाको बिहेवारी समेत विदेशी नागरिकसँग चलिसकेथ्यो।

अन्तर्राष्ट्रिय बिहेबारी विश्वव्यापीकरण भइसक्यो। अन्तर्राष्ट्रिय विवाह एउटा नयाँ युगको अवधारणा हो। वास्तवमा अन्तर्राष्ट्रिय विवाहले पौराणिक मान्यतालाई पुनः सुदृढीकरण ग¥यो। महाउपनिषद् र ऋग्वेदमा उल्लेख गरिएको ‘वसुधैव कुटुम्बकम्’ एक वैदिक मन्त्र हो। वेद, पुराण, गीता, उपनिषद्का अनुयायी, जसले ‘संसार एक परिवार’ मान्छ, उसले कसैलाई निषेध गर्दैन। पिताजीलाई अन्तर्राष्ट्रिय विवाहमा कुनै आपत्ति भएन। विदेशी ज्वाइँ तथा नातिनी बुहारी पिताजीलाई भेट्न आउँदा उनीहरू घरको मूल ढोकाभित्र नछिर्दै मेरी आमालाई भन्नुहुन्थ्यो, ‘ए आमा यता हेर त, उनीहरू आइसके, ल तिमीले के गर्छु भनेको हो।’ पिताजीको यस्तो आसय– दियो, कलस गरी स्वागत गर्नु भनेको हो। आफू परिवारको वरिष्ठतम सदस्य भए पनि नवआगन्तुक कनिष्ठ सदस्यलाई समेत उठेर आदर र प्रेमले सत्कार गर्नुहुन्थ्यो। यसरी नवआगन्तुक परिवारको सदस्यलाई आफ्नोभन्दा पहिले आफ्नो परिवारको परम्परागत संस्कृतिको परिचय गराउनुहुन्थ्यो। परम्परागत संस्कृतिको दायरा ठूलो छ। यसले धर्म, दर्शन, नैतिक मापदण्ड, समाज, मान्यता, रीति–रिवाज, साहित्य, कला र भाषाजस्ता धेरै मानव गतिविधिलाई समेट्छ।

विभिन्न देशवासी बेग्लाबेग्लै भाषा प्रयोग गर्छन्। अंगे्रजी सबैको साझा भाषा जस्तै हो। टुटेफुटेकै भए पनि अंगे्रजी भाषाको माध्यमबाट विभिन्न भाषाभाषी संवाद स्थापित गर्छन्। पिताजी आफ्नो टुटेफुटेको अंगे्रजी भाषालाई समेत विभिन्न भावभंगिमाको आत्मिक संचारबाट पूर्णता दिनुहुन्थ्यो। कवि हृदयमा अरूभन्दा अलग्गै अभिव्यक्तिको भावनात्मक शब्दावली हुन्छ। कविको हृदयमा स्वस्फूर्त कुतूहल र प्रेमको विशिष्ट भाव हुन्छ, जसले उसलाई नयाँ सम्बन्ध सृष्टि र स्वीकार गर्न सजिलो बनाउँछ। प्रेमको सम्बन्ध सौन्दर्य र आनन्दको सम्बन्ध हुन्छ। त्यो सुविधा, सञ्चय अपचयनको सम्बन्ध होइन। कवि हृदय जसलाई प्रेम गर्छ, उसैभित्र सारा संसार देख्छ, अनन्तको परिचय पाउँछ। यस्तो परिचयलाई काव्यको रश्मिले प्रज्ज्वलित गरी प्रेमपूर्वक सञ्चय गर्नु कविको विशेषता हो। जसलाई कविसँग सम्बन्धमा आबद्ध हुने सौभाग्य प्राप्त हुन्छ, उसको अन्तर्आत्मा नै प्रफुल्लित हुन्छ। विदेशी ज्वाइँ तथा नातिनी बुहारीहरू पनि आफू ठूला देशका नागरिक हुनुभन्दा सानै देशका भए पनि यस्ता प्रबुद्ध व्यक्तिसँग आफ्नो सम्बन्ध गाँसिएकामा गौरवान्वित छन्। पिताजीबाट प्राप्त आशीर्वाद, उपहार सबै उनीहरूका लागि अमूल्य हुन्छन्।

पिताजीले स्वदेशका नातिनातिनाको विवाहमा उपहार के दिने कहिल्यै चासो लिनुभएन। यसको जिम्मा आमालाई दिनुभएको थियो। लामो समयसम्म आमाको रोजाइमा यस्ता उपहार घरमा आवश्यक पर्ने भाँडाकुँडा हुन्थ्यो, त्यसपछि केही समय सजावटका समान हुँदै आजभोलि त्यस्ता उपहार खाममा पैसा हुन थाल्यो। विदेशमा जन्मेका या हुर्केकाको बिहेको उपहार भने पिताजी सधैँ आफैँ निर्णय गर्नुहुन्थ्यो। यो उपहार अर्धनारीश्वरको मूर्ति नै हुन्थ्यो। धेरै वर्षसम्म मेरा लागि अर्धनारीश्वर आधा पुरुष र आधा नारीको रूपमा चित्रण गरिएको एउटा अनौठोतर सुन्दर कला मात्रै रह्यो। यसमा अरू केही विशेषता भए जस्तो मलाई लागेन। म सोच्थेँ, यस्तो अनौठो मूर्ति विदेशमा नौलो सजावटको वस्तु हुने अनुमानमा पिताजीको रोजाइमा यो उपहार परिरहेको होला। केही वर्षपछि यो तर्क कताकता आफैँलाई चित्त नबुझेजस्तो पनि लाग्न थाल्यो। तत्पश्चात् पिताजीसँगै यसको रहस्य बुझ्ने अठोट गरे।

पिताजीले अर्ध–नारीश्वरको बारेमा जे जति बताउनुभयो, त्यो सुन्दा आफ्नो संकुचित सोचका तर्कबाट म मनमनै लज्जित भए। म झल्याँस्स भएँ। पुतलीले आफ्नो सुन्दर पखेटा देख्न नसकेजस्तै जसको काखमा म हुर्किएँ, उसैको हृदयको सौन्दर्य मैले देख्न सकिनछु। आत्मग्लानिले सत्यको ज्ञानलाई स्वतन्त्र गरिदियोे। धेरै दिनदेखि धुम्मिएको माघको आकाश निर्मल र स्वच्छ भयो। आकाशको यही अनन्त सौन्दर्यमा मैले आफूलाई पुनः प्राप्त गरे। गह्रुंगिएको मेरो हृदय यति हल्का र तरल भएको अनुभव गरे। मेरो आँखाबाट अश्रु बगिरह्यो। यो अश्रु दुःखको थियो, या सुखको म आफैँले यकिन गर्न सकिन।

जसको हृदय नै ‘सत्यम् शिवम् सुन्दरम्’– अनन्तता, ज्ञान र आनन्द हो, उसका लागि बाहिरी साज सजावटकोे केही अस्तित्व रहन्न। उसका लागि बाहिरी सजावट मिथ्या हो। अर्धनारीश्वर एक शाश्वत सत्य हो। अर्धनारीश्वरको स्वरूप एक गहिरो दार्शनिक सत्य हो। अर्धनारीश्वर तीन शब्द ‘अर्ध’, ‘नारी’ र ‘ईश्वर’, जसमा दाहिने आधा पुरुष शिव र बायाँ नारी पार्वतीको स्वरूप हो। अर्धनारीश्वरको शिव सर्वोच्च भगवान्ले ब्रह्माण्डको सिर्जना, रक्षा र रूपान्तरण गर्छन्। शिव मुक्ति र शुभका संयोजन हुन्। पार्वती हिन्दूू देवीको त्रि एकमध्ये एक हुन्। पार्वतीलाई प्रेम, उर्वरता र भक्ति देवी मानिन्छ। अर्धनारीश्वर पुरुष र नारीको शक्ति सन्तुलनको प्रतीकात्मक रूप हो। पुरुष र नारीको शक्ति अविभाज्य छ। उनीहरू एक–अर्काका पूरक हुन्। अर्धनारीश्वरबारे पिताजीबाट जानेको वैदिक सत्य यही हो। यही वैदिक सत्यलाई मैले पढेको विज्ञानको तथ्यको संयोजनात्मक विश्लेषण गर्ने कोसिस गर्दै छु।

मनोवैज्ञानिक फ्रायडको विश्लेषणमा मानव शुद्ध एकल जीव होइन। प्रत्येक व्यक्तिको जननेन्द्रीय संरचना शुद्ध पुरुष वा पुरुषत्व अथवा नारी वा नारीत्व प्रतिनिधित्व गर्दैन। वैदिक मान्यतामा पनि मानव शरीरमा दायाँ पक्षमा शिव तŒव छ। दायाँ मस्तिष्क— तर्क र व्यवस्थित सोचसँग सम्बन्धित छ। शरीरको दायाँ भागमा रहेको कलेजो सौर्यको उद्गम हो, जसले पौरुस्वत्व दर्शाउँछ। बायाँ भागमा पार्वतीका गुण छन्। शरीरमा बायाँ स्थानको हृदय— भक्ति, प्रेम, समर्पण, सौन्दर्य जस्ता नारी विशेषतासँग सम्बन्धित छन्। बायाँ भागमा अवस्थित आँत सद्भावको प्रतीक हो।

अर्धनारीश्वरको परिकल्पना ब्रह्माण्डको सृष्टिमा आधारित छ। वैज्ञानिक तथ्य अनुसार ब्रह्माण्डको— सौर्य मण्डल, वायु, पानी, मानव शरीर, जनावर, रूख–बिरुवा सबै पदार्थ परमाणुबाट बनेका हुन्। परमाणु तीन प्रकारका छन्— प्रोटोन, न्युट्रोन र इलेक्ट्रोन। प्रोटोनको सकारात्मक र इलेक्ट्रोनको नकारात्मक विद्युतीय चार्ज हुन्छ। विपरीत विद्युतीय चार्जले एक–अर्कालाई आकर्षित गर्ने भएकाले प्रोटोन र इलेक्ट्रोन एक अर्कासँग आकर्षित भई पदार्थको निर्माण भएको हो। विपरीत तर एक–अर्काका पूरकको मिलनले लय उत्पन्न गर्छ। यसैले ब्रह्माण्ड अति सुन्दर छ। वैदिक साहित्यमा वर्णन गरिएको अर्धनारीश्वर पुरुष र नारीको विपरीत लैंगिक एकाइको चार्जले एक अर्कालाई आकर्षित गर्दै तीन मुद्राहरू— अभंग, त्रिभंगा, र अतिभंगाको मोहक स्वरूप हो।

विदेशमा बसोवास गरेका आफ्ना सन्तानलाई विश्वको सम्पूर्ण सत्य र सौन्दर्य एउटै कलाकृतिमा समेटिएको अर्धनारीश्वर उपहार प्रदान गरेर पिताजीले पूर्वीय सभ्यताको सौन्दर्य र गरिमा उनीहरूको हृदयमा जगाउनुभयो। पूर्वीय र पश्चिमी दुवै सभ्यतालाई समन्वय गरेर जीवन बिताउने सुन्दर सन्देश पनि दिनुभयो। आधुनिकीकरणको नाममा विदेशी जीवन शैलीमा समाहित हुने रहरमा आफ्नो संस्कृति र परम्परा त्यागेका बिदेसिएका नेपालीले मात्र होइन, बिदेसिएका परिवारका सदस्यहरूले समेत आयातीत पश्चिमी सभ्यताको नक्कल गरी आफ्नो संस्कृति र परम्परा त्यागेका छन्। यस्तो परिपे्रक्ष्यमा अर्धनारीश्वरभन्दा उपयुक्त अरू के उपहार हुन सक्छ र !



from Nagarik News - Home
Previous Post Next Post