बैंक तथा वित्तीय संस्थाले अब काठमाडौं उपत्यकामा २५ प्रतिशत मात्रै शाखा कार्यालय खुला गर्न पाउने भएका छन्। बैंकिङ काराबारलाई सकेसम्म विद्युतीय माध्यमबाट सञ्चालन गर्नुपर्नेछ। यस्तै बैंक तथा वित्तीय संस्थाका केन्द्रीय कार्यालयले २० प्रतिशत मात्रै जनशक्ति प्रयोग गरी कार्य सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने छ।

काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय थप भएसँगै मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकपछि जारी गरिएको आदेशमा कम जनशक्तिमा बैंक तथा वित्तीय संस्था सञ्चालन गर्नुपर्ने उल्लेख छ। आदेशानुसार सोसम्बन्धी विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिनुपर्ने छ।

काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीका अनुसार कोरोनाको जोखिम कम गर्न कम शाखा तथा जनशक्तिमा बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न आग्रह गरिएको छ। बैंक तथा वित्तीय संस्थाका सवारी साधन सञ्चालनका हकमा सीमित सवारी पास जारी गरी सोको विवरण केन्द्रीय बैंक र जिप्रकालाई दिनुपर्नेछ। केन्द्रीय बैंकले यसअघि नै न्यून जनशक्ति प्रयोग गरी बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न निर्देशन दिइसकेको छ।



from Nagarik News - Home
Previous Post Next Post