
काठमाडौं महानगरपालिका शिक्षा विभागले महानगरभित्रका आधारभूत तह कक्षा ८ सम्म सञ्चालित विद्यालयलाई कक्षा ८ को परीक्षा आन्तरिक मूल्यांकनकै आधारमा सम्पन्न गर्न निर्देशन दिएको छ। कोरोना महामारीको दोस्रो लहरको जोखिम बढ्दै गएको र विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सम्पन्न गर्न नसक्ने अवस्था नभएकाले आन्तरिक मूल्यांकनकै आधारमा परीक्षा सम्पन्न गर्नुपर्ने विभागको निर्देशन छ।
महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बुधबार लिखित निर्देशन जारी गर्दै सबै विद्यालयले जेठ २५ गतेभित्र कक्षा ८ को परीक्षाको मूल्यांकन सक्न निर्देशन दिएका छन्। सरकारले असार पहिलो सातादेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्देशन दिएकाले विभागले जेठ २५ गतेभित्र कक्षा ८ लगायत सबै परीक्षा सक्न विद्यालयहरूलाई निर्देशन दिएको प्रमुख सुवेदीले बताए।
विभागले दिएको निर्देशनमा विद्यालयले परीक्षाको मूल्यांकन विधि नगरस्तरीय परीक्षा समितिले तोकेअनुसार गर्नुपर्ने उल्लेख छ। बुधबार बसेको समिति बैठकले विद्यालयले शैक्षिक सत्र २०७७ को कक्षा ८ को वार्षिक मूल्यांकन पहिलो तथा दोस्रो त्रैमासिक परीक्षाबाट ४० प्रतिशत, निरन्तर विद्यार्थी मूल्यांकन गरी विद्यालयमा राखिएको विद्यार्थीको अभिलेखबाट ४० प्रतिशतलाई मूल्यांकनको आधार मान्नुपर्नेछ। यसका साथै विद्यालय तथा विद्यार्थीको अनुुकूल लउपयुक्त वैकल्पिक मूल्यांकन विधि प्रक्रिया अपनाएर २० प्रतिशत मूल्यांकन सम्पन्न गर्नुपर्ने समितिले निर्णय गरेको छ। सोही निर्णयअनुसार विधि प्रक्रिया अपनाएर परीक्षा सम्पन्न गर्न विद्यालयलाई निर्देशन दिएको प्रमुख सुवेदीले जनाए।
from Nagarik News - Home