चैत्र शुक्ल प्रतिपदा तिथिमा उज्जैनी सम्राट विक्रमादित्यको राज्याभिषेक भयो। सोही दिवसबाटै सम्राट विक्रमादित्य परमारले विक्रम संवत्को शुभारम्भ गरे। फर्किआउने वाचासहित जाडो हात हल्लाउँदै हिँडेको, अनि गर्मी उत्कर्षतर्पm लम्कँदै गरेको याममा– ग्लोबल वार्मिङबाट अछुतो विक्रम संवत्को त्यो प्रथम दिन, गुलाफी जाडो र घमाइलो घामको संगम बन्यो होला। २०७७ वर्षअघिको त्यो दिन, भारत वर्षका उज्जैनी नरनारी नवसम्राट विक्रमादित्यका नाउँबाट ३६५ दिने पात्रोको थालनी गर्दै थिए हुनन्। कल्पना गर्छु– राजप्रसादका ताबेदारहरूले, किराँती–कर्मकाण्डमा चलाउने चिण्डोजस्तै पत्थरको सानो मसीदानीमा मयुरपंखी कलमको चुच्चो चोबलेर पीपलको पातमा गर्वसाथ लेखे होलान्, ...श्री विक्रमाब्द प्रथम ...एक साल एक महिना एक गते, रोज ...शुभम्।

बाफ रे ! अस्ति भर्खर जन्मेको जस्तो लाग्ने नयाँ वर्ष, मिलिक्कै छिप्पट भइसकेछ, समयको रफ्तार कतिसारो तेज हौ !

झन्डै साढे चार अर्ब वर्ष पुरानो पृथ्वीमा विक्रम संवत्का मात्रै दुई हजार ७७ वटा वर्ष बितिसकेछन्। शारीरिक संरचनाका हिसाबले आधुनिक मानवको इतिहास पनि लगभग दुई लाख वर्षको भइसकेछ। पुच्छरबिनाको बाँदरबाट प्रारम्भ भएको मानिने मान्छेको इतिहास आज जूनतारा छुनेमा फेरिएको कुरा तिलस्मी कथा प्रतीत हुन्छ। जीवन चक्रमा भैपरी आउने आरोह–अवरोहका साथै, मान्छे प्रजातिको शारीरिक, मानसिक, आर्थिक, सामाजिक आदि क्रमिक विकास– अनि दिमाग साथै बाहुबल पनि खर्चेर पाएका उसका अभुतपूर्व उपलब्धिहरू सम्झील्याउँदा चौरासी लाख जुनी भट्केपछि प्राप्त यो मनुष्य चोला धन्य भएझैं लाग्छ।

नेपालमा चाहिँ लिच्छविकालदेखि नै औपचारिक शकसम्वत् सँगसँगै अनौपचारिक चलनचल्तीमा रहेको विक्रमसम्वत्, आफ्नो सुरुवातको १९५८ वर्षपछि मात्र चन्द्रशमशेरको पालामा अड्डा–अदालत हुँदी औपचारिक प्रयोग हुन थालेको विभिन्न सन्दर्भ सामाग्रीबाट पुष्टि हुन आउँछ।

डार्विन बाजेको ‘सर्भाइभल अब फिटेस्ट’को मापदण्डमा खरो साबित हुँदै यहाँसम्म आइपुगेको आफ्नो प्रजातिप्रति अग्घोरै अभिमान जाग्छ। तर यति हुँदाहुँदै पनि नयाँ वर्षछेक सधैँ एउटै कुराले दिमाग खान्छ– पुरानो वर्ष त बितिगो, अब नयाँ वर्षभरि के कस्ता उत्तरआधुनिक अक्षर, ध्वनि र दृश्यका सामना गर्नुपर्ने हो भनेर ! बेतुकको अलमल पनि हुन्छ, विकासको पछि दगुर्ने कि जेजति छ, त्यसैमा सन्तोक मानेर प्रकृतिको नैसर्गिकतालाई बचाउने ?

लोपोन्मुख जनजातिलाई उनीहरूका आदिम सभ्यता र संस्कृतिबाट एक इन्च पनि नछुटाई कसरी जोगाइराख्ने ? उनीहरूले धानीआएको सामाजिक संस्कार र उत्पादन प्रणालीलाई तलमाथि हुन नदिई विकासका अवधारणासँग कसरी उनीहरूको सहअस्तित्व कायम गर्ने होला जस्ता कुराहरूले मन उद्वेलित हुन्छ।

कतै पढेकी थिएँ, ‘राउटे समाजको परिवर्तनका कारक तŒवहरू त्यही समाजमा होलान्, हुनैपर्छ। हामी परिवर्तनशील छौं र परिवर्तन–परिवर्तनशीलतामाथि प्रश्न गर्न हुन्न। तर अन्य समाजको परिवर्तनको स्वरूप र दिशा यस्तो हुनपर्छ भनेर अरूले निर्देश गर्नै मिल्दैन। उनीहरूको इच्छा विपरीत सहरिया जीवनको आमन्त्रण दिनु भनेको राज्यले उनीहरूमाथि आफ्नो औपनिवेशिकता र हैकमवाद लाद्न खोज्नु हो।’

माक्र्सका अनुसार पनि ‘प्रत्येक समाजको रूपान्तरण अथवा विनाशको बीउ त्यही समाजभित्र अन्तर्निहित रहेको हुन्छ।’ तराईको मेरो गाउँका आदिवासी जातजातिमा यो कुरा लागू भएझैं लाग्छ मलाई !

पुरातन कृषि प्रणालीको भरमा गाउँको झन्डै दुईतिहाइ माटो आदिकालदेखि हराभरा पार्दै आएको थारु समुदायका धेरैजसो सदस्य तथाकथित आधुनिकताको चक्करमा फसेर सुकुम्बासीमा फेरिए। हाम्रो गाउँमा हेडबाँधनजिकै चन्द्रनहरसँग टाँसिएको झन्डै दुई बिघा जग्गामा रूख र बुट्यानले भरिएको सानो जंगलजस्तो ठाउँ थियो, म सानी छउन्जेलसम्म। त्यसलाई हात्तीसार भन्थे मानिसहरू, त्यहाँ हात्तीहरू राखिन्थे रे ! कुनै जमानामा हात्ती चढेर कामत घुम्ने अधिकांश थारुहरूलाई पछिपछि सामाचकेवा, माघी, गौनाजस्ता आफ्ना सांस्कृतिक धरोहरहरू बचाइराख्न हम्मेहम्मे पर्न थाल्यो। अधकल्चो पढाइ, यातायातको सुगमतासँगै हिन्दी सिनेमाले ल्याएको हिरोइजम्, दुधिया– सोफी र महुवा रक्सीका भट्टी अनि जाँडपानीको सुलभताले धेरै युवामा सहजै लत बसेको मद्यपान सेवनको चस्का रोकेर रोक्न नसकिने अवस्थामा पुग्यो। धेरै युवामा घाँटीमा रंगीन रुमाल बाँधेर जुल्फी लर्काउँदै खेतमा हलो जोत्न संकोचिने र लाज मान्ने बानीको क्रमिक विकास हुँदै गयो। विकल्पमा धमाधम खेतखलिहान बेचिइन र घरघडेरीहरू बन्धकी राखिइन थाले। त्रियुगा खोलाले वर्षैपिच्छे नदीकिनारका खेतहरू काट्दै लगेर धानखेतका मालिकलाई बाँच्नै मुस्किल बनाइदिने दुर्दमनीयताको अभिशप्त छाया त शिरमाथि छँदै थियो। मेरा मीतबाजे उजरु चौधरीजस्तै अन्य धेरै थारु परिवारले त्रियुगाको कहर काटेका थिए। निकै पछि त्रियुगा मुन्तिर लामो पुल बनेपछि बल्ल नाउ पल्टेर असमयमै मानिसले ज्यान गुमाउने, खोलाकटानबाट धानखेत र किनारका खयर र सिसौका रूखहरू बगेर बाढीमा समाहित हुने क्रममा अंकुश लाग्यो।

दारु नपिउने युवाहरू चल्तीको नयाँ सोखतिर ढल्केका थिए। डुलाइहिँड्न मिल्ने इनारजस्तो टिनको बाकसमा स–मिलको काठको भुस र बरफको चक्काभित्र गाडेका कोकाकोला र फन्टा बेच्ने आधुनिक व्यापार भर्खरै गाउँमा भित्रिएको थियो। लडकाहरू घाँटी र छातीमा खरानी घसेजसरी टेल्कम पोडर घस्थे, गोपाल धोबीले बाटोछेउमा फलामे स्त्री लाइदिएको कमिजको माथिका तीनवटा टाँक खोलेर त्यही कोक फेन्टा पिउँथे हिन्दी गीत सुसेलेर ! धेरै केटाहरू हुन्जेलसम्म घरको भात खाएर दिनभरि तास र बाघचाल खेल्थे, अथवा सिनेमा हेर्न कोशीपारि वीरपुर धाउँथे। अनि ‘बर्निङ टर्निङ’ (द बर्निङ ट्रेन) को किस्सा कहँदै क्यारमबोर्डकी रानीका पछि कुद्दैमा जीवन बिताउँथे। अन्तमा, प्रायःले फोक्सोमा टिबीका कीटाणु सँगाली छोराछोरीका पल्टनलाई बिल्लीबाठ पारेर आफू हिँड्थे, कहिले नफिर्ने अनन्त यात्रामा। उफ ! कस्तो दुरुह आधुनिकता !

आधुनिकताको कुरा चल्दा अहिले र उहिलेको पर्यावरणलाई बिर्सनै मिल्दैन, यसै मेसोमा हिमालयन बैंकका क्यालेन्डरहरू सम्झन्छु, जो कम्तीमा सत्तरी वर्षअघिको काठमाडौंका दुर्लभप्राय श्यामश्वेत तस्बिरले सजाइएका हुन्थे। अर्झ पनि मसँग रहेका केही पुराना क्यालेन्डरका तस्बिरहरूमा कति स्वच्छ सुन्दर मनमोहक र झ्याम्म परेका रूखबुट्यानले भरिलो देखिन्छ, उसबेलाको काठमाडौं। खोलाहरू पनि उस्तै कञ्चन, आँखै शीतल पार्ने मनोरम दृश्यहरू !

तिनताकाका टुँडिखेल, खरीको बोट, पीपलबोट, नयाँसडक देख्दा मन कल्पना गर्न थालिहाल्छ, झन्डै यस्तै सुरम्य माहोलमा त होला– विकल आरुबारीबाट, फत्तेमान देवपत्तनबाट, बासुशशि–नातिकाजीहरू मित्रपार्क–जयबागेश्वरीतिरबाट पैदलै नयाँसडक पीपलबोटको जमघटमा सामेल हुन्थे होलान्। र साँझ, हाट भरेर फिरेको मान्छेझैं टहल्दै फर्किजान्थे होलान् आ–आफ्ना गुँडमा।

आफ्ना बास र पीपलबोट बीचको दूरीमा त्योबेलाको काठमाडौंका कति उकालीओराली, कति स्याल कराउने नरकटघारीहरू छिचोले होलान्। धोबीखोला–टुकुचा गीत गाउँदै, कथाकविता सुन्दै सुनाउँदै तरे होलान्, हाम्रा स्रष्टाहरूले। बाटामा पर्ने भण्डारखाल जंगल र बाँसघारीहरूले तर्साएर कतिचोटि झसंग पनि पारे होलान् उनीहरूलाई। सोच्छु, के कहिले उनीहरूलाई त्यो मोहक र जीवन्त सफर ट्याक्सीबाट तय गर्न मन लाग्थ्यो होला र ? घुटुक्क थुक निलाउने त्यो लोभलाग्दो उपत्यका उप्रान्त यस्तै फोटाहरूमा मात्र देखिनेछ, आजको काठमाडौं त कंक्रिटको जंगलमा अनुवाद भई नै सक्यो। उन्नति प्रगतिको उपल्लोछेउ पुगुन्जेल कतै मान्छे पनि कंक्रिटजस्तै संवेदनाहीन वस्तुमा बदलिने त होइन भन्ने आशंकाले बास बस्न खोज्छ मनमा।

यस्तोमा घुमिफिरी मलाई हाम्रा राउटे तथा अन्य कबिला समुदायका जीवनशैलीले मन बुझाउने ठाउँसहित एक किसिमको ढाडस पनि दिन्छ। साँच्चै, रोमन ‘भिनस’जस्तै हुन् यी हाम्रा, हाम्रा सामाजिक–सांस्कृतिक सम्पदा हुन्। एकातिर यिनको मौलिकताको संरक्षण गर्नुपर्ने खाँचो छ भने अर्कोतिर यी समुदायका केटाकेटीले शिक्षाआर्जन गर्न थालेदेखि अन्य जातजातिसँगको घुलमिलका कारण आफ्नो भाषा बोल्न बिर्सन थालेका छन्। यसरी त राउटे भाषा नै लोप भएर जाला कि भन्ने त्यो समाजका पाका सदस्यको चिन्ता छ। जसरी भए पनि यिनको मौलिकताको संरक्षण गर्नुपर्छ, भनेर मेरो मनले भने पनि उदारमनाहरू तर्क दिन्छन्, ‘खानु बाँच्नु मात्र जीवन हैन। चेतनाको झिल्काले नछोइएका उनीहरू विकासको उदेकलाग्दो प्रक्रिया र वैज्ञानिक चमत्कार बुझ्न असमर्थ रहनेछन्। जंगली र सहरी जीवनबीचको विभेद खुट्याउन नसकेर कुवाको भ्यागुताको अर्थमा जिन्दगी तुर्छन्।

तर मेरो अल्पबुझाइमा वास्तविकता ठ्याक्कै त्यस्तो हैन जस्तो लाग्छ। चेतनाको झिल्काले छोइनु भनेको आफ्नो भाषा संस्कृति गुमाउनु हो भने त त्यो बिल्कुलै ठीक हैन। चित्त बुझाउने मेलो मेरा लागि यही रहन्छ कि सहरीकरणको माखेसाङ्लोमा नजेलिईकनै पनि यिनलाई जीवनजगत्बारे राम्रै भेउ छ। आधुनिकतालाई नपछ्याउँदैमा मानवोचित गुणधर्म बिलाएर गएको छैन उनीहरूबाट। प्राकृतिक सरलता, सहजतामा त्यो झनै उजेलिएको छ।

साँच्चै ! आफ्नासँग मिलेर दुखजिलो गर्दै सुखदुःखका प्राप्तिहरू बाँडीचुँडी भाग लाउन, हाँसो ख्यालठट्टामा रम्न, तथा प्रेम–वात्सल्यका भावहरूले छुन छोइन कसैले कसैलाई सिकाउनुपर्दैन। विषधरसँगको लाप्पापश्चात् कुन झार चबाएर वा जिउमा दलेर उत्निखेरै विषप्रभावबाट मुक्त होइन्छ न्याउरीलाई प्रकृतिले चिनाइदिइसकेको छ, आजका वैज्ञानिकले पसिना काढेर पत्तो लाएको पुनः अर्को सर्पदंशजस्तो एन्टिभेनम ज्यानमा हाल्नैपर्दैन उसलाई। बच्चा बोकेरै अग्रगामी छलाङ लगाओस् भनेर काखैमा टाँसिएको अर्गानिक झोला उपहार दिएको छ, उदार प्रकृतिले कँगारुलाई। कुकुरले आफ्नो घाउ चाटेरै निको पार्छ। इन्द्रेणी लाग्दा नाच भन्नैपर्दैन मजुरलाई। त्यसैगरी मान्छेलाई पनि उसका स्वभावजन्य खाँचाहरूको पहिचान र पूर्ति गर्न, प्रकृतिले सबै ¥याङठ्याङ मिलाइदिएको हुन्छ।

सहरका सभ्य मानिसले झैं राम्रा पुस्तक पढ्न, संगीतको मजा लिन, उच्चस्तरका कलाकृति बुभ्mनबाट उनीहरू वञ्चित रहने भए नि ! भनेर चुकचुकाउनु पनि पर्दैन होला। प्रकृतिनजिकै आदिम सामाजिक मूल्य र परम्परामा बाँचेका उनीहरूको बचाइ–भोगाइ नै आफैँमा ग्रन्थ हो, काव्य हो। माक्र्स–ऐंगेल्स हो, द स्टोरी अब माई एक्सपेरिमेन्ट्स विद् ट्रुथ हो। उनीहरूको सीपमै पाब्लो पिकासो, दा भिन्चीहरू छरपस्टिएर गम्किएका छन्, अनि उनीहरूको श्रममै जोन लेनन ‘इम्याजिन’ र जोन डेनभर ‘कन्ट्रीरोड टेक मी होम’ गाउँछन्।

विकासे प्राप्तिहरूले पक्कै पनि एकसरो मानिसको जीवन सहज र रंगीन त बनेको छ– तर अनेकथरीका प्रदूषण, ग्लोबल वार्मिङ, पातलिँदै गएको ओजोन तह, मरुभूमिकरण, कोरोना जस्ता महामारी र उपचारै नास्ती रोगव्याधिहरू पनि फोसामा हात लागेकै छ। मास्क, स्यानिटाइजरको प्रयोग, बेला बेलाको हात धुवाई र बाहिर नगई घरैमा बस्दा पनि खासै फरक नपर्ने हुन ेखानेले त तैबिसेक कोरोना कहरबाट आफूलाई केही हदसम्म जोगाउन सक्लान्, तर हुँदा खानेले सधैँ हातै धोएर, मास्कै लाएर र स्यानिटाइजरले पुछपाछै पारेर के गरी धान्नु जिन्दगी ! हातमुख जोर्नकै लागि तिनले हातपाखुरा बजार्नैपर्छ। अनि पुगिसरी नआएका निम्छराहरू गुर्जो, अम्बाका पात र बेसारपानीकै नुस्खामा त्वाम् शरणनम् हुनु ? त्यसमाथि विडम्बना ! कोभिड–१९ को खोपले पनि रोकथामको शत प्रतिशत जिम्मा त नलिँदो रहेछ। हुन त, जिन्दगी र भोगाइकै ठेगान हुँदैन भने अर्थोकको के ठोकुवा गराई भयो र !

फेरि कतै नभएको आधुनिकताको हावाले छोएर होला धेरैजसो हामी पनि अचेल यतिसारो अल्छे र आसे भएका छौं कि सक्षम हुँदाहुँदै पनि सारा काम अरू कसैले गरिदिए हुन्थ्यो भन्ने चाहिरहेका हुन्छौं। यस युगका महानायकहरू डल्लै विश्वलाई प्रगतिको चरमचुलीमा पु¥याउन हतारो गर्छन्, तर हाम्रा गोडा अहिले नै दुई किलोमिटर हिँड्न अल्छी मान्न थालिसके। भोलि कतै चुट्किलाको बाबुपात्रले, ‘हेर् छोरा ! अब उसो एउटा स्विच थिच्नासाथ तैंले चाहेको सबथोक पुग्नेछ’ भन्दा– बा ! अरू त ठीकै छ, त्यो स्विचचाहिँ कसले थिचिदिन्छ नि ? भन्ने छोरापात्रझैं परनिर्भरताको चरम अवस्थामा त पुग्दैनौ हामी ?

राष्ट्रकविको गीतमा ‘नेपाली हामी रहन्छौं कहाँ नेपालै नरहे ?’ भनिएजस्तै आधुनिकता र प्रगतिको नाउँमा प्रकृति पर्यावरण नै बाँच्नुको अनुकूल रहेन भने अरू त तपसिलका कुरा भइहाले। आखिर विकासको अन्तिम लक्ष्य भन्नु धर्तीवासीले एक पेट खाएर सुखसाथ बाँच्न पाउनु हो, र सबै आमाबाबुका सपनाजपना सन्तानलाई बतास पनि नबिझाओस् भन्ने नै हो। तर घरबाहिर निस्कनासाथ मट्याङ्ग्रा लागेको भँगेराझैं लुले छोराछोरी भुक्लुक्क भुक्लुक्क ढल्न थाले भने घामको रापलाई अझ नजिकिन उक्साउने त्यो विकासको के सार ! प्रदूषणले गाँजेको हिजोआजको काठमाडौंको आकाशमा केही दिनदेखि जति आँखा च्यातेर हेरे पनि रात नपर्दै पश्चिम आकाशमा देखिने तारा (शुक्र ग्रह) को त कुरै छाडिदिऔं, रातिका तारा पनि देखिन छाडेका थिए, म अत्यासिएकी थिएँ कतिसारो ढुसी परेछ वायुमण्डलमा भनेर ! र यो तीतो सत्यले नराम्ररी मेरो अस्तित्वलाई हल्लाइदिएको थियो। गाउँको आँगनमा गुन्द्री ओछ्याएर पल्टँदै तारा गनेर बिताएका रातहरू सम्झनामा ताजा भए। काठमाडौंमै पनि केही पहिलेसम्म छतमा उक्लेर टोलाउँदै जूनतारासँग आँखा जुधाएका यादहरू के ‘एकादेशका कथा’ भइसके ? भन्ने बोध ननिको लाग्यो। धन्य ! हावाहुण्डरीसहित दुई झमट परेको दर्के पानीपछि मेरो आकाश फेरि झलझलाकार देखेँ।

भावी पुस्तालाई सुन्दर जीवनको जग बसाल्दिन लागिपरेको अत्याधुनिक मान्छे, आफैँले उब्जाएको पर्यावरणीय दुष्प्रभावका कारण रिभर्स गियरमा लाएको मोटरझैँ शनैः शनैः उल्टै आफैँ आदि मानव ‘एप्’मा फेरिने त हैन ? फेरि परिवर्तनको शाश्वत नियम त छँदै छ, जसको पालना गर्दै एउटा कयामतको दिन यो पृथ्वी पनि नासिने छ र गुलजारको कवितामा जस्तै सूर्य पनि सेलाउँदै गएर ओसिएको अँगार बन्नेछ। जसरी खगोलशास्त्रीले जीवनको सम्भावना नभए पनि, अर्बौं वर्षपहिले पानी हुन सक्थ्यो भनिएको शुक्र ग्रहको धर्ती अहिले ज्वालामुखीको धर्ती बनेको छ।

प्रेम र सौन्दर्यकी देवी भिनसको नाउँ दिइएको शुक्र ग्रहको जन्म आजभन्दा करिब चार अर्ब वर्षपहिले भएको थियो। कार्बन डाइअक्साइडको प्रचुरताको कारण हुने ग्रिनहाउसका प्रभावले त्यो पानी बाष्पीकृत हुँदै गयो होला र आज शुक्र ग्रहको धर्ती ज्वालामुखीको धर्ती बनिसकेको छ।

यस्तै हो, ब्रह्माण्डलाई त रूपान्तरणको सत्य अंगीकार नगरी सुख छैन भने अदना मान्छेको दुखेसो के कुरा भयो र !

नौलो वर्षमा खासै गतिला कुरा लेख्न सकिएन। योपालि यस्तै भयो। आसा गरौं– श्रमको सम्मान गर्दै रोगव्याधि र निसासिने वातावरणबाट मुक्त रहेर निस्फिक्री बाँच्न सकिनेछ। राम्रा, उपयोगी र असल कार्यहरू हुनेछन् आघुमै सालै त !

मेरी गुरुङसेनी मुवाँलाई सम्झँदै तृष्णा गुरुङको गीत यहाँ खामें–

डाँडैको बत्तीहरू हेरिरहेछु जहाँ छाडेथ्यौ त्यहीँ बसे’छु

भेटौंला माया बाँचिएसम्म, पहिलो माया लाएकै ठाउँमा

आघुमै सालै त !



from Nagarik News - Home
Previous Post Next Post