सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुखआयुक्त दीप बस्न्यातलाई थुनामा राख्नुको कारण सोधेको छ। न्यायाधीश मीरा खड्काको एकल इजलासले बस्न्यातलाई थुनामा राखिएको कारण माग गर्दै बन्दी प्रत्यक्षीकरणको आदेश दिन नमिल्ने कारण भए लिखित जवाफ पेश गर्न आइतबार आदेश जारी गरेको हो।

‘बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुन नपर्ने हो ? आदेश गर्नु नपर्ने भए तीन दिनभित्र महान्यायाधीवक्ता कार्यालय मार्फत लिखित जवाफ पेश गर्नु’ आइतबार जारी आदेशमा भनिएको छ। बस्न्यातको स्वास्थ्य अवस्था जटिल बनेकाले थुनामुक्त गर्न मागसहित सर्वोच्च अदालतमा शुक्रबार बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता भएको थियो।

ललिता निवास सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाइएको भ्रष्टाचार मुद्दामा फसेका बस्न्यातलाई कोरोना संक्रमण पनि भएकाले थप जटिलता आएको र थुनामुक्त हुनुपर्ने मागसहित रिट निवेदन दर्ता भएको हो। बस्न्यातलाई चाबहिलस्थित ओम अस्पतालमा अक्सिजन दिएर उपचार भैरहेको रिट निवेदनमा उल्लेख छ।

‘६९ वर्ष उमेर भैसकेको साथै मुटु रोगलगायत साविक देखि नै विभिन्न रोगले पीडित छु। अहिले कोरोना संक्रमण भई चावहित ओम अस्पतालको हाइकेयर युनिटमा भर्ना गरिराखेको छ। मुटुको पुनः शल्यक्रिया नगरे जीवन नै जोखिममा पर्ने अवस्था छ’ रिट निवेदनमा भनिएको छ। त्यसैले थुनामुक्त गरिदिनु भन्ने मागसहितको निवेदन दर्ता भएको हो।

भ्रष्टाचार मुद्दाका अभियुक्त बस्न्यातलाई गत मंसिर २८ मा विशेष अदालत काठमाडौंले डिल्लीबजार थुनामा पठाउने आदेश दिएको थियो। उनले अस्वस्थ रहेको र विशेष अदालतको आदेश कानुन विपरित भएकाले थुनाबाहिरै रहेर मुद्दा लड्न पाउँ भन्ने मागसहितसर्वोच्चमा माघ १५ मा निवेदन पनि दर्ता गरेका थिए। तर, उनको निवेदनमाथि सुनुवाई हुन सकेको छैन।

बस्न्यात विरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रूपैयाँ विगो माग गरी २०७६ माघ २२ मा भ्रष्टाचार मुद्दा गरेको थियो। बस्न्यातलाई ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोग छ।



from Nagarik News - Home
Previous Post Next Post