काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बिएको छ। आइतबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले निषेधाज्ञा एक साता लम्ब्याउने तर केही खुकुलो गर्ने निर्णय लिएको हो। पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि सोमबार राति १२ बजे सकिँदैछ।

नयाँ निर्णयअनुसार असार ८ गतेदेखि ट्याक्सी र निजी सवारीसाधन जोर बिजोर प्रणालीका आधारमा सञ्चालन गर्न पाइनेछ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल सोरुम तथा पर्ट्स पसल, इलेक्ट्रोनिक पसल आइतबार, मंगलबार र बिहीबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन गर्न पाइनेछ। त्यस्तै सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्टल स्टोर (ग्रोसरी बाहेक), सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम र टेलरिङ सञ्चालन गर्न पाइनेछ।

निर्माणजन्य सामग्रीका पसल बिहान ११ बजेदेखि अपराह्न ६ बजेसम्म सञ्चालन गर्न पाइनेछ। ठूलो परिमाणको ढुवानी गर्ने साधन रातिमात्र सञ्चालन गर्न पाइनेछ। अत्यावश्यक वस्तुहरूको अनलाइन र टेक अवे सेवा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र मात्र साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ। सवारीसाधन मर्मतका लागि वर्कसप बेलुका ७ बजेसम्म खुला राख्न पाइनेछ। ‘खुकुलो पारेर निषेधाज्ञाको अवधि एक साता लब्याइएको छ,’ प्रजिअ पराजुलीले भने, ‘दुई चरणमा दिन बिराएर पसलहरू सञ्चालन गर्न दिइएको छ। जोरविजोर प्रणालीका आधारमा निजी सवारीसाधन सञ्चालन गर्न पाइनेछ। स्वास्थ्य मापदण्ड पालना गरेर ट्याक्सी सञ्चालन गर्न दिइनेछ।’

निजी सवारीसाधनमा बढीमा चारजना, ट्याक्सीमा बढीमा तीनजना र मोटरसाइकल तथा स्कुटर जोरविजोर प्रणालीअनुसार सञ्चालन गर्न पाइनेछ। सर्वसाधारणको शैक्षिक संस्थाहरूले अनलाइन तथा भर्चुअल माध्यमबाट पठनपाठन सञ्चालन गर्न सक्नेछन्। वैदेशिक अध्ययन तथा ईडिभीका कारण विदेशमा जानुपर्ने व्यक्तिका लागि कूटनीतिक नियोग तथा अन्य निकायले भिसा प्रक्रियाका कार्य नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सक्नेछन्।

सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी नाचघर क्लब, स्विमिङ पुल, मनोरञ्जन स्थल, सैलुन, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसको भिडभाड हुने कार्यक्रम सञ्चालन गर्न पाइने छैन। खुला स्थानमा मानिसहरूको भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा महोत्सव र भोजभतेरलगायत गर्न गराउन रोक लगाइएको छ। फुटपाथ तथा खुला ठाँउमा हुने विभिन्न व्यापार व्यवसाय सञ्चान तथा कवाडी संकलन गर्न रोक लगाइएको छ।

पुजारीबाट हुने नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न पाइनेछैन। बैंक, वित्तीय संस्था, धितोपत्र, बिमा, रेमिट, सहकारी र गैरसरकारी संस्थाले स्वास्थ्य मापदण्ड पालना हुने व्यवस्था मिलाई आलोपालो प्रणाली कायम गरी न्यूनतम जनशक्तिमात्र प्रयोग गरी सेवा प्रवाह सुचारु गर्न पाउनेछन्।



from Nagarik News - Home
Previous Post Next Post