
जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरले २०७७ असार १ गते निर्वाचन आयोगमा पठाएको कागजात किर्ते, जालसाजी र नक्कली भएको बताएको छ।
यादव पक्षबाट पार्टीका प्रचार विभाग प्रमुख डम्मर खतिवडाले शनिबार प्रेस विज्ञप्ति जारी गरी २०७७ पुस ७ गतेको बैठकमा कार्यकारिणी हेरफेर, प्रमाणीकरण तथा आधिकारिक पत्राचारको अधिकार दिएको विषयमा कुनै निर्णय नभएको भन्दै हुँदै नभएको निर्णयलाई निर्णय भएको भनी महन्थ ठाकुरले आयोगमा झुटा विवरण र नक्कली चिठी पठाएकोे बताएका छन्। ‘हुँदै नभएको निर्णयलाई निर्णय भनी २०७८ असार १ गते निर्वाचन आयोगमा झुटा विवरण लेखी किर्ते र जालसाजी गरी निर्णय गरेको भनी महन्थ ठाकुरले निर्वाचन आयोगमा पत्र दर्ता गराएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘नक्कली बैठक पुस्तिका तयार गरी गरिएको कार्य अनैतिक, गैरकानुनी र दण्डनीय हो।’
ठाकुरले निर्वाचन आयोग, पार्टी पंक्ति र आम जनसमुदायलाई गुमराहमा राखेका बताएका छन्। २०७७ पुस ७ गते बसेको बैठकले गरेको सम्पूर्ण निर्णय अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले हस्ताक्षर गरी प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको र उक्त दिनको निर्णय कार्यकारिणी सदस्य, केन्द्रीय सदस्य, केन्द्रीय परिषद् सदस्य, प्रदेश समिति, जिल्ला समिति तथा सम्पर्ण भ्रातृ संगठनहरूलाई संयुक्त हस्ताक्षरद्वारा निर्णयका रूपमा परिपत्र गरिएको पनि विज्ञप्तिमा जनाइएको छ।
from Nagarik News - Home