
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सोमबार टेलिफोन गरी नेपाललाई छिट्टै खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन्। देउवालाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई तथा शुभकामना दिँदै नेपाललाई छिट्टै खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी गराएका छन्।
टेलिफोन कुराकानीमा दुई पक्षीय सम्बन्ध थप मजबुत बनाउने तथा हाल जारी महामारी कोभिड विरुद्ध सामुहिक रूपमा लड्नेलगायतका विविध विषयमा छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
दुई समकक्षीको कुराकानीका क्रममा दुई देशबीच जनस्तरमा सदियौँ पुरानो सम्बन्ध रहेको र दुई देशबीचमा विशेष सम्बन्ध रहेको स्मरण गर्दै दुईपक्षीय सहकार्यका क्षेत्रमा मिलेर काम गर्ने विषयमा सहमति भएको मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री मोदीले देउवा प्रधानमन्त्रीमा नियुक्त भएको करिब एक साता पछि अर्थात् आइतबार संसद्बाट विश्वासको मत लिएपछि सामाजिक सञ्जालमार्फत बधाई दिएका थिए।
त्यस्तै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि प्रधानमन्त्री देउवालाई बधाई दिएका छन्। देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सफल भएको बताउँदै उनले उनले
ट्विटरमार्फत बधाई दिएका हुन्। प्रधानमन्त्री खानले दुई देशबीचको सम्बन्ध अझ गहिरो र सुमधुर हुने विश्वास व्यक्त गरेका छन्। साथै उनले साझा हितका विषयमा मिलेर काम गर्न चाहेको बताएका छन्। नेपालका लागि जापानका राजदूत किकुता युताकाले पनि प्रधानमन्त्री देउवालाई बताई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्।
उनले नेपाल जापान मित्रता र सहकार्यको लामो इतिहासको स्मरण गर्दै हाल जारी महामारीलाई दुई देशले एक आपसमा मिलेर पराजित गर्न सफल हुने विश्वास व्यक्त गरेका छन्। उनले जापानले नेपाललाई १६ लाख कोभिडविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको र विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको बताएका छन्।
नेपालका लागि स्विस राजदूत एलिसावेथ भोन क्याप्लरले पनि प्रधानमन्त्री देउवालाई सोमबार उनकै कार्यालयमा पुगेर बताई तथा शुभकामना दिएकी छिन्। यस अघी नेपालका लागि अमेरिकी, चिनियाँ र भारतीय राजदूतले पनि प्रधानमन्त्री देउवालाई भेटेर बधाई तथा शुभकामना दिइसकेका छन्।
from Nagarik News - Home