पार्टी परिवर्तनपछि बर्खास्तीमा परेका लुम्बिनी प्रदेशका दुई सांसद सर्वोच्च अदालत पुगेका छन्। माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेपछि सांसद पदबाट हटाइएका प्रदेशसभा सदस्यहरू दधिराम न्यौपाने र दिनेश पन्थीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका हुन्। नेपालको संविधान र माओवादी केन्द्र संसदीय दलको विधानविपरीत आफूहरूलाइ प्रदेशसभा सदस्यबाट हटाइएको भन्दै उनीहरूले सर्वोच्चमा निवेदन दिएका हुन्।

गत फागुनदेखि नै माओवादी केन्द्र छाडेर एमालेमा सक्रिय भएका पन्थी र न्यौपानेले अहिले भने आफूहरू माओवादीमै रहेको भन्दै सदस्य पद बचाइदिन सर्वोच्चमा अपिल गरेका हुन्। फागुन २३ मा सर्वोच्च अदालतले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्रलाई अस्तित्वमा ल्याइदिएपछि दुवैजना माओवादी छाडेर एमालेमा प्रवेश गरेका थिए। माओवादी छाडेर एमालेमा सक्रिय भएको भन्दै पार्टीले उनीहरूलाई कारबाही गरेको थियो।

माओवादीको पत्रका आधारमा सभामुख पूर्णबहादुर घर्तीले दुवैजनालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरिदिएका हुन्। न्यौपाने रूपन्देही–१ ‘ख’ र पन्थी गुल्मी–१ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। उनीहरूले नेकपा माओवादी केन्द्र, लुम्बिनी प्रदेशसभा सचिवालय, सभामुख र निर्वाचन आयोगलाइ विपक्षी बनाई निवेदन दिएका छन्। तत्कालीन अवस्थामा माओवादी केन्द्र र एमालेको संयुक्त घोषणापत्रका आधारमा निर्वाचन लडेको जिकिर गर्दै उनीहरूले विधि विधानविपरीत जनताका जनप्रतिनिधिलाई हटाउन नपाइने दाबी गर्दै सर्वोच्च पुगेका हुन्।



from Nagarik News - Home
Previous Post Next Post