
एमाले उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन्। रावलले देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार बन्नुभन्दा त्यसबाट अलग हुनु श्रेयस्कर भएकाले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएको जनाएका छन्। उनले पार्टीमा विवाद भइरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिनुभन्दा सांसद पदबाट राजीनामा दिनु उचित ठानेर यस्तो कदम चालेका हुन्।
राजीनामा दिन संसद् सचिवालयमा पुगेका बेला एमाले सांसद झपट रावललगायतले रावलको राजीनामा पत्र लिएर हिँडेपछि उनले नयाँ बानेश्वरस्थित संसद् भवन पुगेर सभामुखसमक्ष राजीनामा पत्र बुझाएका थिए। ‘म पार्टी एकताको पक्षमा उभिएँ तर अनैतिक राजनीति हुन थाल्यो। यो खेलबाट अलग हुन सांसद पदबाट राजीनामा दिएको हुँ,’ रावलले भने। उनले संघीय संसद् भवनमा पनि राजीनामा पत्रको विवरण सुनाउँदै गर्दा सुरेन्द्र पाण्डेले रोक्न खोजेका थिए।
देउवा नेतृत्वको सरकारको पक्षमा विश्वासको मत दिँदा पार्टी एकता प्रयास भत्किने र नदिँदा संसद् जोगाउनुपर्छ भन्ने मान्यताबाट पछि हटेको भन्ने नैतिक प्रश्न उठ्ने भएपछि रावलले विवादबाट जोगिन राजीनामा दिएको निकटहरूको बुझाइ छ।
उनले राजनीतिक नेतृत्वबाट देश र जनताको हितविपरीतका काम हुँदा नेपाल र नेपालीको शिर निहुरिँदै गएको बताएका छन्। ‘...पछिल्लो समय प्रतिनिधिसभा विघटनदेखि पुनस्र्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश, जनता र पार्टीको हितभन्दा निजी स्वार्थ, अहम् प्रतिशोधी र षड्यन्त्रकारी चरित्र देख्दा देश र जनताको हितलाई सर्वोपरी सम्झने जुनसुकै नेपाली नागरिकको मनमा घृणा उत्पन्न हुन्छ’, उनले भनेका छन्।
यस्तो स्थितिमा अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयस्कर भएकाले उक्त प्रकारको दूषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएको छु।’
from Nagarik News - Home