गारेथ बेलले सन् २०१९ पछि ला लिगामा पहिलो गोल गरे पनि उनको स्थानमा मैदान प्रवेश गरेका ब्राजिलियन स्ट्राइकर भिनिसियसको दुई गोल प्रेरणाबाट रियाल मड्रिडले आइतबार लेभान्तेसँग हारको संकट टारेको छ। लेभान्तेको घरेलु मैदानमा भिनिसियसकै दुई गोलबाट रियालले लेभान्तेसँग ३–३ को बराबरी गर्दै हारको संकट टारेको हो।

रियालको यो नतिजासँगै डिफेन्डिङ च्याम्पियन एटलेटिको मड्रिडले ला लिगाको शीर्ष स्थानमा उक्लिने अवसर पाएको छ। एटलेटिकोले पनि इल्चेमाथि १–० को साँघुरो जित निकालेको थियो। रियालका लागि खेलको पाँचौं मिनेटमा नै बेलले अग्रता दिलाएका थिए। करिम बेन्जिमाको पास सदुपयोग गर्दै बेलले गोल गरेका हुन्। वेल्सका स्टार खेलाडी बेलको त्यो गोल नै सन् २०१९ को सेप्टेम्बरपछिको ला लिगाको पहिलो गोल हो। उनले पछिल्लो पटक सन् २०१९ को सेप्टेम्बरमा भिल्लारियालविरुद्ध ८६औं मिनेटमा गोल गरेका थिए। त्यस खेलमा उनी रातो कार्ड बेहोर्दै मैदानबाट बाहिरिएका थिए।

तर, लेभान्तेसँगको खेलमा भने उनी छिट्टै गोल गर्न सफल भए। रियालले पहिलो हाफमा लेभान्तेविरुद्ध दबाब बनाए पनि दोस्रो गोल भने गर्न सकेन। तर, लेभान्तेले दोस्रो हाफको २८ सेकेन्डमा नै गोल फर्काउँदै बराबरी गर्‍यो। रोजर मार्टीको गोलबाट लेभान्ते खेलमा फर्कियो। ५७औं मिनेटमा जोसे काम्पनाको गोलबाट लेभान्ते अग्रता बनाउन सफल भयो। रियालका कार्लो एन्सेलोट्टीले लगत्तै बेल, इस्को र इडेन हाजार्डलाई प्रतिस्थापन गराए। तीमध्ये एक भिनिसियसले खेलको ७३औं मिनेटमा प्रशिक्षकको विश्वासलाई सफलता दिलाए।

कासेमिरोको पास सदुपयोग गर्दै भिनिसियसले गोल गरे। तर, त्यसको सात मिनेटपछि नै फ्रिकिकमार्फत रोबर पिइरले गोल गर्दै लेभान्तेलाई अग्रता दिलाए। त्यो गोलसँगै रियाल निकै दबाबमा पर्‍यो। यद्यपि, खेल सकिन पाँच मिनेट बाँकी छँदा भिनिसियसले बराबरी गोल फर्काए। त्यसको दुई मिनेटपछि नै लेभान्ते १० खेलाडीमा सीमित भयो।

पेनाल्टी क्षेत्रभन्दा बाहिरको बल हातले समातेपछि गोलकिपर एइटोर फर्नान्डेजले रातो कार्ड पाएपछि लेभान्ते १० खेलाडीमा सीमित भएको हो। त्यस समयसम्म लेभान्तेले सबै सब्सिच्युट्स प्रयोग गरेकाले डिफेन्डर रुबेन भेजोले गोलपोस्ट समाले। यद्यपि, रियालले त्यसको फाइदा उठाउन सकेन।



from Nagarik News - Home
Previous Post Next Post