केपी ओली नेतृत्व सरकारमा संघीय मामिला तथा स्वास्थ्यमन्त्री भएका हृदयेश त्रिपाठी र उनको समूहले तत्कालै नयाँ पार्टी खोल्ने भएको छ।

भदौ महिनसम्म नयाँ पार्टी घोषणा गर्ने उक्त समूहको नेतृत्व गरेका त्रिपाठीले बताए। ‘भदौ महिनाभित्रै नयाँ पार्टी खोल्छाैँ,’ त्रिपाठीले भने, ‘नयाँ पार्टी खोल्ने निश्चित भएको छ।’ त्रिपाठी समूहले पार्टीको सम्भावित पाँचवटा नाम पनि जुराएको छ। तर, त्रिपाठीले नामबारे खुलासा गर्न चाहेनन्।

स्रोतका अनुसार त्रिपाठीले खोल्ने पार्टीको नाममा समाजवादी शब्द नछुटाइने भएको छ। ‘नेपाल समाजवादी पार्टी’ नाम त्रिपाठीले पहिलो प्राथमिकतामा राखेको स्रोतले बतायो। त्रिपाठीले भने, ‘नाम चयन गर्दा निर्वाचन आयोगको दर्ता किताबमा नाम जुधे–नजुधेको पनि हेर्छाैँ।’ उनले भने, ‘नाम जे भए पनि नाम भन्दा पार्टी खोल्ने कुरा ठूलो कुरा हो। पार्टीमा खोल्ने निर्णय गरिसकेका छाैँ।’

त्रिपाठी र त्रिपाठीको समूहले अहिले आफूलाई स्वतन्त्र राजनीतिक समूह भन्ने गरेको छ। यो समूहमा दुई जना प्रतिनिधिसभा सांसद तथा दुईजना प्रदेशसभा सांसद छन्। प्रतिनिधिसभा सांसदमा त्रिपाठी र बिजे्रश गुप्ता छन् भने प्रदेशसभा सांसदमा अजय शाही र धर्मबहादुर लाल श्रीवास्तव छन्। यसैगरी यो समूहमा पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्रलगायतका नेताहरू पनि छन्। यस समूहका नेताहरू २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभामा एमालेको सूर्य चुनाव चिह्नबाट चुनाव लडेका थिए।

त्यसैले अहिले पनि उनीहरू कानुनी रूपमा एमालकै मानिने एमाले नेताहरूको दाबी छ। तर त्रिपाठी समूहका नेताहरू भने २०७४ को चुनावमा एमालेसँग चुनावी तालमेल मात्र गरिएको कारण कानुनी रूपमा पार्टी खोल्न मिल्ने दाबी गर्छन्। ‘२०७४ सालमा एमालेसँग चुनावी तालमेल मात्र गरेका हांै। पार्टी खोल्न मिल्छ,’ त्रिपाठीले भने।

त्रिपाठीले नयाँ पार्टी खोल्ने घोषणा गरे पनि उनका समूहका नेताहरू भने यसबारेमा आफू जानकार नभएको बताउँछन्। नयाँ पार्टी खोल्ने विषयमा आफूलाई थाहा नभएको त्रिपाठी समूहका नेता बिज्रेश गुप्ताले बताए। यसैगरी अर्का नेता अजय शाहीले पनि नयाँ पार्टी खोल्ने विषयमा आफू जानकार नभएको बताए। ‘नयाँ पार्टी खोल्ने तयारी हुँदैछ भनेर मैले पनि मिडियाबाट सुने तर यसबारेमा म जानकार छैन,’ उनले भने।



from Nagarik News - Home
Previous Post Next Post