आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित एकदिवसीय त्रिकोणात्मक शृंखला र पपुवा न्युगिनी (पिएनजी) सँग हुने दुई एकदिवसीय खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार ओमान प्रस्थान गरेको छ।

सेप्टेम्बरमा हुने आइसिसी विश्वकप क्रिकेट लिग टु को त्रिकोणात्मक शृंखलाका लागि १७ सदस्यीय नेपाली क्रिकेट टोली सलाम एयरबाट ओमान प्रस्थान गरेको हो। टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले भर्चुअल रूपमा बिदाइ गरेको हो। यसअघि क्यानले शृंखलाका लागि शनिबार १७ सदस्यीय खेलाडी र ५ अफिसियल्सको नाम घोषणा गरेको थियो। ओमान भ्रमण गर्न लागेको टोलीलाई आइएमई ट्राभल्स प्राइभेट लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्‍यो। टोलीलाई आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले बिदाइ गरे।

ओमान भ्रमणमा रहेको टोलीमा रोहितकुमार पौडेल, शरद भेषावकर र विक्रम सोबले पुनरागमन गरेका छन्। गुल्सन झाले राष्ट्रिय टोलीबाट पहिलो पटक भ्रमणको मौका पाएका छन्। त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग २/२ खेल खेल्नेछ। क्रिकोणात्मक सिरिजपूर्व नेपालले पपुवा न्युगिनी (पिएनजी) सँग भदौ २० र भदौ २३ गरी दुई एकदिवसीय खेल खेल्ने तालिका छ। ओमानमा नै हुने पिएनजीसँगको खेलपछि नेपाली टोलीले त्रिकोणात्मक सिरिज खेल्नेछ।

आइसिसी विश्वकप क्रिकेट लिग टुमा नेपालले अहिलेसम्म चार खेल खेलेको छ। जसमा दुई जित निकाल्दा दुई खेलमा नतिजा सुम्पिएको छ। घरेलु मैदानमा ओमान र अमेरिकासँग नेपालले ४ खेल खेलिसकेको छ। लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ। नेपाल छैटौं स्थानमा छ। ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा छ। १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ। पिएनजीले ८ खेल खेल्दा अंकको खाता खोल्न सकेको छैन।



from Nagarik News - Home
Previous Post Next Post