नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ । क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचरका को–फाउन्डर सुलभ बुढाथोकीले सोमबार एक कार्यक्रमबीच राष्ट्रिय टोलीको नयाँ जर्सी सार्वजनिक गरेका हुन्।

गत असारमा राष्ट्रिय टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा नै गराइएको थियो। उक्त प्रतिस्पर्धाबाट आदर्श पोखरेलले डिजाइन गरेको जर्सी छनोट भएको हो। नयाँ जर्सी छनोटका लागि क्यानले क्यानका केन्द्रीय सदस्य छुम्बी लामा, जनरल म्यानेजर रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र प्रायोजकबाट एक सदस्यसहित चार सदस्यीय समिति गठन गरेको थियो।

सोही समितिले पाँच सयभन्दा बढी जर्सीबाट पोखरेलको डिजाइन छनोट गरेको हो। त्यसबापत पोखरेलले १ लाख रूपैयाँ प्राप्त गरे। सोमबार प्रायोजक माई सेकेन्ड टिचरका को–फाउन्डर बुढाथोकी र क्यानका कोषाध्यक्ष सिंहले उनलाई एक लाख रूपैयाँको चेक हस्तान्तरण गरे। नेपाली क्रिकेट टोलीले आगामी ओमान भ्रमणमा उक्त जर्सी लगाउनेछ। कार्यक्रममा क्यानका कोषाध्यक्ष सिंहले राष्ट्रिय झन्डाको रंग, देशको संस्कृति, भौगोलिक विविधता र अन्तर्राष्ट्रिय मान्यतालगायतका पक्षलाई ध्यानमा राखेर राष्ट्रिय टोलीको जर्सी छनोट गरिएको बताए। जर्सीको कुमको भागमा नेपालको झन्डा र जर्सीमा झन्डाको रंग प्रयोग गरिएको छ।

जर्सीको अघिल्लो भागमा विश्वकै सर्वोच्च शिखर सगरमाथा, नेपालमा मात्र पाइने दुर्लभ एकसिंगे गैंडा र राष्ट्रिय प्रतीकलाई समावेश गरिएको छ। नेपालले ओमान भ्रमणअन्तर्गत सेप्टेम्बर ५ मा पपुवा न्युगिनीसँग खेल्ने एकदिवसीय खेलमा पहिलो पटक नयाँ जर्सी लगाउनेछ। पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल हुनेछ। यो शृंखलापछि नेपालले विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक शृंखला खेल्नेछ। उक्त त्रिकोणात्मक शृंखला सेप्टेम्बर १३ देखि २० सम्म हुनेछ। नेपाली टोली मंगलबार ओमानतर्पm प्रस्थान गर्ने तालिका छ।



from Nagarik News - Home
Previous Post Next Post