नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन जापानमा भएको पारालम्पिकमा ऐतिहासिक पदक जित्नबाट चुकेकी छन् । जापानको टोकियोस्थित माकुहारी मेसेमा शुक्रबार सम्पन्न कांस्य पदकको प्रतिस्पर्धामा चीनकी ली युजीसँग १२–९ को साँघुरो अन्तरले स्तब्ध हुँदै पलेशा पारालम्पिकमा ऐतिहासिक पदक जित्नबाट चुकेकी हुन्।

यसअघि कुनै पनि खेलाडीले पारालम्पिकमा यस किसिमको प्रदर्शन गर्न सकेका थिएनन्। चीनकी प्रतिद्वन्द्वीविरुद्ध कडा चुनौती दिँदादिँदै पनि उनी अन्तिम समयमा चुक्न पुगिन्। खेल सकिन १० सेकेन्ड समय बाँकी छँदासम्म लीविरुद्ध उनी ९–९ को बराबरी अवस्थामा थिइन्। तर, अन्तिम समयमा भने उनी समालिन सकिनन्।

त्यसपछिको बाँकी समयमा दुवैततर्फ बाट प्रहार भए पनि लीले एउटा किक प्रहारबाट दुई अंक बटुल्दा पलेशा ११–९ ले पछि परिन्। त्यसैबीच पलेशाको अर्को प्रहार विपक्षीको घुँडामा लाग्दा ग्याम्जो (पेनाल्टी)बापत लीले एक अंक पाइन्। त्यससँगै चोटग्रस्त पलेशाको पदक जित्ने सपना यस पटक अधुरै रह्यो। उनको देब्रे खुट्टामा चोट थियो, जसले उनलाई प्रतिस्पर्धामा पनि सतायो। त्यसअघि पहिलो राउन्डमा भने पलेशा ७–४ ले पछि परेकी थिइन्। दोस्रो राउन्ड सुरु हुने बितिक्कै किक प्रहार गर्ने क्रममा पलेशा लड्न पुग्दा पेनाल्टीस्वरूप लीको खातामा एक अंक थपिन पुगेको थियो।

कुल चार मिनेटको खेलमा पलेशाले पेनाल्टीस्वरूप तीन अंक गुमाउन पगिन्। त्यो नै पलेशाको हारको कारण बन्यो। त्यसअघि पहिलो चरणमा नै ब्रिटेनकी बेथ मुनरोसँग २१–८ ले पराजित भएपछि उनको स्वर्ण यात्रा समाप्त भएको थियो। तर, मुनरोले सेमिफाइनलमा स्थान बनाएसँगै पलेशाले रेपेचेजमार्फत कांस्य पदक जित्ने अवसर पाइन्। रेपेचेजको पहिलो राउन्डमा उनले अमेरिकाकी ब्रियान्ना सालिनारोलाई १०–० ले हराउँदै कांस्य पदकको सम्भावना कायमै राखेकी थिइन्। दोस्रो चरणमा भने पलेशा सर्बियाकी मारिजा मिसेभमाथि २३–१५ को जित निकाल्दै कांस्य पदकनजिक पुगिन्।

तर, कांस्यका लागि भएको प्रतिस्पर्धामा भने उनी अन्तिम समयमा चीनकी खेलाडीसँग चुकिन्। ‘यहाँबाट पदक जितेर नै फर्कने हाम्रो लक्ष्य थियो, जहाँ हामी असफल भयौं। ऐतिहासिक अवसरबाट चुक्यौं। यसका लागि समग्र नेपालीसँग क्षमा माग्न चाहन्छौं। तथापि, पलेशाले आफ्नोतर्फबाट प्रयास गरिन् र राम्रो नै खेलिन्,’ नेपाली टोलीमा रहेका सदस्य दीपक विष्टले भने। यस समूहमा डेनमार्ककी जेसिङले स्वर्ण जित्दा ब्रिटेनकी मुनरो रजत पदकमै सीमित भइन्। चीनकै ली र ब्राजिलकी सिल्भाना फर्नान्डेजले कांस्य जिते।



from Nagarik News - Home
Previous Post Next Post