प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण राष्ट्रियसभाको बुधबारको बैठक अवरुद्ध भएको छ। बैठक सुरु हुनासाथ एमाले सांसदले विरोध जनाएपछि शोकप्रस्ताव मात्रै पारित गरिएको छ।

अधिवेशन सुरु भएदेखि नै राष्ट्रियसभामा पनि एमालेले नावरावाजी नगरी आ–आफ्ना स्थानमा उठेर अवरोध गर्दै आएको छ। बुधबारको बैठकमा मुख्य कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। बैठक सुरु भएलगत्तै एमालेका सांसदहरूले उठेर विरोध गरेपछि विधेयक पेश गर्ने र समितिमा पठाउने विषय कार्यसूचीबाट हटाई तेस्रो बुँदामा रहेको शोकप्रस्तावमा प्रवेश गरिएको थियो।

बैठक संविधानसभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गर्दै असोज ५ गतेसम्मका लागि स्थगित भएको छ। ‘अध्यागमन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयकलगायत छलफलको कार्यसूचीबाट हटाइएको थियो।



from Nagarik News - Home
Previous Post Next Post