डिस होम मिडिया नेटवर्क लिमिटेडले नेपाल र पपुवा न्युगिनी (पिएनजी) बीच हुने दुईवटा एकदिवसीय क्रिकेट शृंखला प्रत्यक्ष प्रसारण गर्ने अधिकार पाएको छ।

नेपाल क्रिकेट संघ (क्यान) र डिस होम मिडिया नेटवर्क लिमिटेडबीच मंगलबार सम्झौता भएसँगै एक्सन स्पोर्ट्स एचडी वानले उक्त शृंखला प्रत्यक्ष प्रसारण गर्ने भएको हो। सो प्रसारण डिसहोमको गो ओटिटी यपबाट पनि हेर्न सकिनेछ। डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्य र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहबीच उक्त सम्झौतामा हस्ताक्षर भएको थियो।

नेपालले ओमान र अमेरिकासँग आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाअगाडि पपुवा न्युगिनीसँग उक्त शृंखला खेल्न लागेको हो। त्रिकोणात्मक शृंखला सेप्टेम्बर १३ देखि २० सम्म ओमानमा नै हुनेछ। त्यसअघि नेपालले आगामी भदौ २० र २३ पपुवा न्युगिनीसँग दुईवटा एकदिवसीय खेल खेल्नेछ। पहिलो खेल दिनमा हुँदा दोस्रो खेल भने डे–नाइटमा सञ्चालन हुनेछ। उक्त शृंखला खेल्ने नेपाली टोली ओमान पुगिसकेको छ।



from Nagarik News - Home
Previous Post Next Post