कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले बुधबार भएको बस दुर्घटनाका घाइतेहरूलाई अस्पतालमै पुगेर भेटेका छन्।

सुर्खेतबाट जुम्ला जाँदै गरेको भे १ ख २५७४ नम्बरको फोर्स गाडी वीरेन्द्रनगर–२ स्थित रेडियो नेपालनजिकै दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका ११ मध्ये पाँचजनाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ। मन्त्री बुढाक्षेत्रीले सोही अस्तालमा पुगेर घाइते र आफन्त भेट गरेकाथिए। उनले घाइतेको उपचारलाई प्राथमिकता दिन अस्पताल प्रशासनलाई निर्देशन दिए।

‘दुर्घटनाका घाइतेको उपचारका लागि प्रदेश सरकार गम्भीर छ,’ उनले भने, ‘घाइतेको प्रभावकारी उपचारमा ध्यान दिन अस्पताल प्रशासन र चिकित्सकलाई निर्देशन दिएको छु ।’ बुढाक्षेत्रीले दुर्घटनामा गम्भीर घाइते भएकाको निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि निर्देशन दिए ।

जुम्लाकी पम्फा परियार, उनका ६ महिने छोरी आशिका र तीन वर्षे छोरा आशिकको अवस्था गम्भीर छ। अस्पतालका निर्देशक डा. डम्बर खड्काले दुर्घटनाका घाइतेहरूको उपचारमा अस्पताल प्रशासन गम्भीर रहेको बताए। उनले घाइतेको उपचारमा आवश्यक सबै व्यवस्था गरिएको बताए ।

‘दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई विशेष निगरानीमा राखेर उपचार गरिरहेका छौं,’ उनले भने ।



from Nagarik News - Home
Previous Post Next Post