कोरोना महामारीले उद्योग, व्यवसाय धराशयी भइरहेको बेला धरानमा १७ करोड लगानीमा पशुपक्षीको दाना उत्पादन गर्ने उद्योग खुलेको छ।

धरान–८, तीनकुनेस्थित आद्यौगिक क्षेत्र हाताभित्र खुलेको ब्राइट फिड प्रालिको शनिबार प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले उद्घाटन गरेका छन्। यो उद्योगले कुखुरा, बंगुर, माछा, गाई, भैंसीलगायत पशुपक्षीलाई आवश्यक पर्ने गुणस्तरीय एवं सन्तुलित आहार उत्पादन गर्ने जनाएको छ।

मुख्यमन्त्री आचार्यले उद्योगहरूले रोजगारी सिर्जना गर्ने र आर्थिक विकासमा योगदान पुग्ने भएकोले सरकारले सहयोग गर्ने बताए। उनले संविधान र लोकतन्त्रको स्थायित्वसँगै सरकारको प्राथमिकतामा उत्पादन वृद्धि, पुर्वाधार विकास, कृषि क्षेत्रको विकास, रोजगारी प्रवद्र्धन रहेको खुलाए।

‘कोभिड र राजनीतिक अस्थिरताले पछिल्लो दुई वर्ष धेरै कुरामा असर पुगेको छ, अहिले परिस्थितिलाई परिवर्तन गरौं भन्ने लागिरहेको भए पनि राजनीतिक वातावरण सहज छैन,’ मुख्यमन्त्री आचार्यले भने, ‘समस्याहरू थुप्रै भए पनि विचलित नभई उद्देश्य र लक्ष्यमा सरकार अघि बढ्छ।’उद्योगका अध्यक्ष एवं प्रबन्ध निर्देशक गोपाल श्रेष्ठका अनुसार पशुपक्षी किसानलाई पौष्टिक आहारा नभएर धेरै दुःख झेल्नु परिरहेकोले उक्त समस्या हल गर्न उद्योग सञ्चालन गरेको बताए।

उनका अनुसार लामो समयदेखि पशुपक्षीपालन गर्ने किसान, दाना वितरक, पशु पोषणविद तथा पशु चिकित्सक लगायत २० जनाको समूह मिलेर उद्योग खोलेको हो। यहाँबाट कुखुरा, बंगुर, गाई, भैंसी, माछालगायत पशुपक्षीको गुणस्तरीय तथा सन्तुलित आहार उत्पादन हुनेछ। उद्योगको उत्पादन क्षमता दैनिक दुई सय मेट्रिक टन छ। बजार विस्तार गर्न उद्योगले थप २० करोड लगानी गर्ने योजना बनाएको छ। उद्योगमा ५० जनाले प्रत्यक्ष र दुई सय जनाले अप्रत्यक्ष रोजगारी पाउने श्रेष्ठले बताए।



from Nagarik News - Home
Previous Post Next Post