
सडक विभागले गत आर्थिक वर्षमा विगत तीन वर्षको तुलनामा सबैभन्दा धेरै सडक कालोपत्रे गरेको छ। विभागले कोभिड–१९ महामारीबीच गत आर्थिक वर्षमा लक्ष्यको ८५ प्रतिशत सडक कालोपत्रे गरेको छ। विभागले आर्थिक वर्ष २०७७/७८ मा मुलुकभर १४ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो। सो अवधिमा ११ सय ९० किलोमिटर कालोपत्रे गरेको छ।
विभागका महानिर्देशक अर्जुनजंग थापाले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा कालोपत्रे गर्ने सडकको लम्बाइ बढेको बताए। ‘गत आर्थिक वर्षमा लक्ष्यको ८५ प्रतिशत सडक कालोपत्रे भएको छ,’ उनले भने, ‘कोभिड–१९ नभएको भए कालोपत्रे अझै बढ्ने थियो।’ विभागले गत आवमा एक हजार किलोमिटर सडक ग्राभेल गर्ने लक्ष्य राखेकोमा ७३९ किलोमिटर गरेको छ। पाँच सय किलोमिटर सडकको ट्र्याक खोल्ने लक्ष्यमा ४७२ किलोमिटर ट्र्याक खनेको छ।
विभागले गत आवमा पुँजीगत (संशोधित) सहित एक खर्ब १८ अर्ब रूपैयाँ बजेट पाएको थियो। सो अवधिमा संशोधित बजेटको ६६.२७ प्रतिशत खर्च गरेको छ। विभागले वार्षिक लक्ष्यको भौतिकतर्फ ७२.४७ प्रतिशत उपलब्धि हात पारेको छ। विभागले आर्थिक वर्ष २०७६/७७ मा एक खर्ब २७ अर्ब बजेट पाएकोमा ६९.४८ प्रतिशत खर्च गरेको थियो।
आव २०७५/७६ मा एक खर्ब ८ अर्ब बजेट विनियोजन भएकोमा ७९ अर्ब ९३ करोड रूपैयाँ खर्च गरेको थियो। विभागले आर्थिक वर्ष २०७५/७५ मा विनियोजित बजेट जति नै गत आवमा खर्च गरेको देखिन्छ। विभागले आव २०७६/७७ मा १२ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेकोमा सात सय २९ किलोमिटर मात्रै गरेको छ। त्यसैगरी, तीन सय ५७ किलोमिटर स्तरोन्नति कालोपत्रे सात सय ५७ किलोमिटर ग्राभेल र तीन सय ६५ किलोमिटर नयाँ ट्र्याक खोलेको जनाएको छ। विभागले आर्थिक वर्ष ०७५/७६ मा नौ सय १५ किलोमिटर सडक कालोपत्रे गरेको थियो। त्योभन्दा अघिल्लो वर्ष २०७४/७५ मा नौ सय चार किलोमिटर कालोपत्रे भएको थियो।
पुलको लक्ष्य ३००, निर्माण १९०
विभागले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लक्ष्य अनुसार पुल निर्माण गर्न नसकेको पाइएको छ। गत आर्थिक वर्षमा मुलुकभर तीन सय पुल निर्माण गर्ने लक्ष्य थियो। सो अवधिमा लक्ष्यको ६४ प्रतिशत अर्थात १९० वटा पुल निर्माण गरेको छ।
विभाग मातहतको पुल महाशाखाले आर्थिक वर्ष २०७६/७७ मा पनि तीन सय पुल निर्माण गर्ने लक्ष्य राखेकामा २१० वटा निर्माण गरेको थियो। आर्थिक वर्ष २०७५/७६ वर्षमा दुई सय ४३ र आर्थिक वर्ष ०७४/७५ मा ८२ वटा पुल निर्माण भएका थिए।
from Nagarik News - Home