माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिपमा नेपालले लिग चरणको अन्तिम खेलमा आज (बुधबार) बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। सुरुवातमा लगातार दुई खेल जिते पनि तेस्रो खेलमा भारतसँग हारेको नेपाल बंगलादेशसँगको खेल जित वा बराबरी गरेमा फाइनल प्रवेश गर्नेछ।

सुरुआती दुई खेलमा रोमाञ्चक जित निकालेको नेपाल तेस्रो खेलमा भने भारतसँग १–० ले पराजित भएको थियो। नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० र दोस्रो खेलमा श्रीलंकालाई ३–२ गोलअन्तरले हराएको थियो।

समान ६ अंक भए पनि गोल अन्तरको आधारमा आयोजक माल्दिभ्स शीर्ष स्थानमा उक्लिँदा भारतसँगको पराजयले नेपाल दोस्रो स्थानमा झरेको छ। बंगलादेशसँगको खेलमा हारेमा नेपाल प्रतियोगिताबाटै बाहिरिनेछ। यदि खेल बराबरी भएमा पनि नेपाल ७ अंक जोड्दै उपाधि प्रतिस्पर्धामा पुग्नेछ। जित्यो भने नेपाल ९ अंकका साथ फाइनल प्रवेश गर्नेछ।

माल्दिभ्सको मालेस्थित नेसलन स्टेडियममा नेपाल र बंगलादेशबीचको प्रतिस्पर्धा नेपाली समयानुसार अपराह्न ४ः४५ बजे सुरु हुनेछ।

बुधबार नै भारत र माल्दिभ्सबीच पनि खेल हुँदैछ। फाइनल पुग्ने टिम बुधबारको खेलबाटै टुंगो लाग्नेछ । नेपाली समयानुसार राति ९ः४५ बजे सुरु हुने यो खेल पनि रोमाञ्चक हुनेछ।

किनकि भारतसँग बराबरी भए पनि आयोजक माल्दिभ्स फाइनलमा प्रवेश गर्नेछ। तर भारतले भने फाइनल प्रवेशका लागि खेल जित्नैपर्छ।



from Nagarik News - Home
Previous Post Next Post