
मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडी र मध्य भारतमारहेका न्यूनचापीय प्रणाली क्रमशः उत्तरतिर सर्दा त्यसको प्रभाव नेपालमा पनि परेको छ। यसमा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावसमेत परेको छ। यसैकारण मुलुकका विभिन्न भागमा बदली भइरहेको छ।
केही दिनदेखि देशका अधिकांश भूभागमा बदलीदेखि हल्का तथा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मंगलबार देशभर सामान्यदेखि पूर्ण बदलीरहने सम्भावना छ।
सुदूरपश्चिम, कर्णाली, गण्डकीर लुम्बिनी प्रदेशका धेरै स्थान, प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कतिपय स्थानमा भारी वर्षाको सम्भावना देखिएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मंगलबार उच्च पहाडी तथा हिमाली भूभागमा पनि वर्षासँगै हिमपातको सम्भावना छ।
मुलुकका विभिन्न भागमा बदलीसँगै वर्षा हुन थालेपछि किसान चिन्तित हुन थालेका छन्। अहिले किसान पाकेको धान भित्र्याउने तयारीमा छन्। वर्षा लम्बिएमा धान भित्र्याउन समस्या हुन्छ।
from Nagarik News - Home