नेपालमा विदेशी लगानी प्रवर्द्धन गर्न निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र लगानी बोर्डबीच सहकार्य हुने भएको छ। महासंघ अन्तर्गतको अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिको लगानी बोर्ड कार्यालयमा मंगलबार सम्पन्न तेस्रो बैठकमा बोर्डका कार्यकारी अधिकृत सुशील भट्ट र महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकमा लगानी प्रवर्द्धन गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाएको बोर्डले जानकारी दिएको छ।

‘नेपालमा गुणस्तरीय लगानी भित्र्याई सरकारले लिएको समृद्ध सुखी नेपालीको आकांक्षालाई संयुक्त रूपमा पूरा गर्ने दायित्व नेपाल सरकार र निजी क्षेत्रको हो। यसका लागि लगानी बोर्ड कार्यालय निजी क्षेत्रसँग सहकार्य र समझदारी गर्न तयार छ,’ बैठकमा बोर्ड अध्यक्ष भट्टले भने।

उनले लगानी बोर्ड नेपालमा लगानी आकर्षित गर्न आवश्यक नीतिगत सुधारका सम्बन्धमा निजी क्षेत्रसँग सहकार्य गरी सक्रिय रूपले अघि बढिरहेको पनि बताए। लगानीको क्षेत्रलाई समेत विविधीकरण गर्नुपर्ने भन्दै उनले अगाडि थपे, ‘हामीसँग लगानीका सम्भावनाका क्षेत्रहरू धेरै छन् र लगानीकर्तालाई समेत हाम्रा विविध क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्नुपर्छ।

यसका लागि बार्ड र निजी क्षेत्रले संयुक्त रूपमा कार्य गर्नुपर्नेछ।’ उनले कुनै पनि परियोजना अघि बढाउँदा पहिले त्यस्ता परियोजनाको विभिन्न पक्षबारे विस्तृत अध्ययन गर्नुपर्नेमा जोड दिए। ‘परियोजनाको प्राविधिक, वातावरणीय तथा वित्तीय अवस्थाको गहिरो अध्ययन नभए कुनै पनि परियोजना अघि बढ्न सक्दैनन्,’ भट्टले भने।

बैठकमा महासंघ अध्यक्ष गोल्छाले स्वदेशी तथा विदेशी निजी लगानीकर्तासँग छलफल र समन्वय गर्न महासंघ एउटा जिम्मेवार र सक्षम निकाय भएको बताए। उनले नेपालमा लगानी आकर्षित गर्न विदेशी लगानीकर्तासमक्ष पुग्न बोर्ड र महासंघले संयुक्त रूपमा काम गर्नुपर्नेमा जोड दिए। ‘हामीसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमै सक्रिय सञ्जाल उपलब्ध छ। उक्त सञ्जालको उपयोग गरी हामी लगानीकर्तासमक्ष सजिलै पुग्न सक्छौं र नेपालमा लगानी भित्र्याउन सक्छौं,’ गोल्छाले भने।



from Nagarik News - Home
Previous Post Next Post