
धावक रामसुन्दर कार्की ललितपुरको गोदावरीदेखि जनकपुरसम्म दौडने भएका छन्। विगतमा पनि विभिन्न सामाजिक कार्यमा आर्थिक सहयोग जुटाउन दौडँदै आएका कार्की यसपटक धार्मिक कार्यका लागि दौडन लागेका हुन्।
कार्कीले मंसिर २० गतेदेखि दौड यात्रा प्रारम्भ गर्ने जनाएका छन्। ३ दिनमा २ सय २५ किलोमिटर दूरी पूरा गर्ने कार्कीले बताए।
गोदावरी नगरपालिका १, गोदामचौरको कार्कीटारस्थित आफैंले निर्माण गरेको हनुमान मन्दिरमा गदा स्थापनाका लागि आर्थिक सहयोग जुटाउन कार्की दौडन लागेका हुन्। उनले त्यहाँ २७ फिट अग्लो गदा निर्माण गर्न लागेका छन्। सो कार्यको शिलान्यास पनि भइसकेको छ।
कार्कीले विगतमा विद्यालय तथा बाढी पीडितको सहयोगार्थ दौडेर आर्थिक सहायता उपलब्ध गराएको बताए। नेपालको सबै जिल्ला दौडेर पुगिसकेका कार्कीले काठमाडौं/दोलखा, काठमाडौं/सिन्धुली, काठमाडौं/पोखरा, काठमाडौं/लुम्बिनी दौडिसकेका छन्। उनले विभिन्न घरेलु दौड प्रतियोगितामा पनि सहभागिता जनाएका छन् ।
from Nagarik News - Home