
सयपत्री चारैतिर निर्धक्क फुलिदिएको छ। गोदावरी बेहुलीझैँ सबैको नजर चोर्न सफल भएकी छन्। भर्खरै बैँस चढेको बेगमबेली उत्तिकै जोसका साथ तँछाडमछाडको प्रतिस्पर्धामा देखिन्छिन्। त्यो पनि विभिन्न रङ र फुर्कामा। मुलुकको केन्द्रीय राजधानीबाटै उत्तरतर्फ नजर लगाउँदा टिलिक्क टल्किएका मनमोहक हिमाल ‘आऊ, आऊ’ भनेर बोलाइरहेछन्।
बिहानै सूर्यको किरणले हिमालसँग लुकामारी खेल्दा देखिने विरङ्गी रूपले मोहनी लगाउँछ सबैलाई। लाग्छ–यी सबै तिहारकै लागि जन्मेका हुन्।तिहारलाई अझ रोमाञ्चक र मनोरञ्जक बनाउन हातेमालो गरिरहेका छन्। त्यसैले त भनिन्छ–तिहारको छेउछाउ पनि नबहलाएको मन अरू बेला कहिल्यै बहलाउन गाह्रो छ।
चाडपर्व भनेपछि मन त्यत्तिकै पुलकित हुनु स्वाभाविक हो। खानपिन र लगाउने मेलोमेसोका कारण मात्र हैन, हाम्रो संस्कृति र संस्कार जोडिएकाले पनि हाम्रा चाड महान् बनेका हुन्।
पिर्तापुर्खाले करोडौँ वर्षदेखि साँचेका परम्परा मात्र हैनन् यी, सनातनी कर्मकाण्ड मात्र पनि हैनन् हाम्रा चाड।हाम्रा चाड त संस्कारका खानी हुन्।प्रकृतिलाई सम्मान गर्न सिकाउने पाठशाला हुन् अनि खानपिनलाई व्यवस्थित गर्ने र रोगनिरोधक प्रविधिका सिकाइ केन्द्र हुन्।
त्यसैले त कहिले, कुन मौसममा के खानुपर्छ र ज्यानलाई फाइदा गर्छ भन्ने चाडपर्वले नै सिकाउँछन् हामीलाई। यसर्थ हाम्रा चाड हाम्रा सम्पत्ति पनि हुन्।
तिहारसँग जाडो मौसम पनि सुरु भइसकेको छ। जाडो याममा आफ्नै घरको तोरी पेलेर निकालेको तेलमा गैरीखेतको धानबाट बनाइएको सेल खाँदा हुने मिठोपनको वर्णनका लागि सायदै भेटिएलान् शब्द।
सफासुग्घर घर, फूलैफूलले सिँगारिएका दृश्य अनि विशेषगरी बेलुका बालिने रंगीचंगी बत्तीले तिहारलाई विशेष बनाउँछन्। अझ यसरी भनौँ, खेतीपाती र अन्य कर्मबाट थाकेका मनलाई ‘रिचार्ज’ गर्छन्। मानौँ, अब यस धर्तीबाट निराशाका दिन गए।
तराईमा घर/आँगनमा रङ्गोली बनाएर तथा पटाका पड्काएर झिलिमिली बत्तीका साथ मनाइने तिहारलाई दीपावली भन्ने गरिन्छ प्रायः। त्यस्तै नेवार समुदायले म्हपूजाका रूपमा मनाउँछन् धूमधामसँग। आफ्नै शरीर र आत्माको पूजा गर्छन् उनीहरू। नेपाल संवत्को उत्सव पनि यहीबेला मनाउँछन् उनीहरू।
विभिन्न भूगोल, समुदाय, सम्प्रदाय आदिमा जसरी मनाए पनि यो पर्वको आफ्नै महत्त्व छ।आफूलाई आफैँले सम्मान गर्ने चलन पनि विशिष्ट मान्नुपर्छ। किनकि आफू स्वस्थ रहेमा मात्र संसारको कुनै पनि विकृतिविरुद्ध लड्न सकिन्छ भन्ने सन्देश आफैँमा अद्वितीय छ। विभिन्न विषयमा यस्ता ज्ञान पस्कनु हाम्रा प्रत्येक चाडपर्वका मौलिक विशेषता हुन्।
यमपञ्चक पनि भन्छौँ, हामी तिहारलाई। यस क्रममा पशुपन्छीदेखि मानिस (दाजुभाइ) लाई समेत पूजा गर्ने संस्कृति छ हाम्रो। हिन्दू धर्मशास्त्रअनुसार यमराज आफ्ना दिदीबहिनीको हातको टीका लगाउन कहिले काग, कहिले कुकुर त कहिले अन्य रूप धारण गरेर धर्तीमा आउँथे। त्यसैले पशुपन्छीको सम्मानार्थ यस्तो चलन चलाइएको छ।
अर्को कोणबाट हेर्दा यो सृष्टि चल्नका लागि पशुपन्छी, वन, नदी जस्ता सम्पूर्ण प्राकृतिक तत्त्व आवश्यक हुन्छन्। त्यसैले यिनीहरूको महत्त्व दर्शाउने हिसाबले पनि यिनको सम्मान र सुरक्षा आवश्यक हुने सन्देश दिन पशुपन्छी पूजा निकै महत्त्वपूर्ण छ।
तिहारको पहिलो दिन नै काग तिहारबाट सुरु हुन्छ। यो दिन घरमा पाकेका खाना पहिले कागलाई छुट्ट्याएर मात्र परिवारका सदस्यले खाने गर्छन्।
त्यसैगरी दोस्रो दिन कुकुर तिहार पर्छ। जुन दिन घरमा पालिएका कुकुरलाई पूजा गर्ने, मीठा खानेकुरा दिइन्छ। कुकुर नपालेकाले अन्य कुकुर खोजेर भए पनि पूजा नगरी नखाने चलन छ। कुकुर इमानदारको प्रतीक मात्र हैन, हाम्रो हिन्दु धर्मअनुसार यो जनावर भैरव, शिवदेखि पाँच पाण्डवसम्मको प्रसङ्गमा जोडिएर आउँछ। त्यसैले कुकुरको पूजा धार्मिक आस्था मात्र नभई इमानदारिताको कदर पनि हो भन्नेमा शङ्का छैन।
तेस्रो दिन हामी गाई तिहार मनाउँछौँ। यो दिन तिहारको मुख्य आकर्षणमध्येको लक्ष्मी पूजा पनि पर्छ। दूध, गोबर, गहुँतदेखि मल समेत काम लाग्ने हिसाबले गाईको पूजा गर्नुको वैज्ञानिक कारण पनि छ। पूजाको अर्थ सम्मान वा संरक्षण भएकाले गाई मात्र नभएर यस्तै खालका जनावर मानव सृष्टि सुचारु राख्न अपरिहार्य हुने सन्देश यो दिनले दिने गरेको छ। अर्कोतर्फ गाईलाई हिन्दू धर्मावलम्बीको सुख र शान्तिको प्रतीक पनि मानिन्छ।
तिहारको चौथो दिन पर्ने गोवर्द्धन पूजाको पनि आफ्नै महत्त्व छ। शक्ति र बलका रूपमा लिइने गोरु हाम्रो जस्तो कृषिप्रधान देशमा खेतीपातीका लागि पनि अनिवार्य औजार समेत हो। त्यसैले गोरुको पूजा खाद्य सम्प्रभुतासँग पनि जोडिएको विषय हो। गोरुको सम्मान किन आवश्यक छ भन्ने बेजोडको सन्देश दिन्छ गोवर्द्धन पूजाले।
लक्ष्मी पूजा र गोवर्द्धन पूजाका दिन भैली र देउसी खेल्ने चलन तिहारकै पर्यायका रूपमा फस्टाएका छन्। भैली/देउसीबाट सङ्कलन हुने चामल/धान, भेटी आदि केटाकेटीका लागि सामान्य आम्दानीको सवाल भए पनि पछिल्लो समय यसलाई सदुपयोग गर्ने क्रम बढ्दो छ।
भैली/देउसीबाट हुने आम्दानी वृद्धाश्रम निर्माण, पाटी/पौवा बनाउने तथा अन्य सामाजिक कार्यमा लगाइने परिपाटी देखिन थालेका छन्। यसले एकातिर भेटी माग्नेलाई पनि सजिलो हुने गरेको छ भने अर्कोतिर आफूले दिएको दान सदुपयोग भई सन्तुष्टि मिल्ने भएकाले दिनेले पनि ढुक्कसँग दिने वातावरण हुर्किरहेको छ। यो तिहारको अर्को सकारात्मक पक्ष हो।
तिहारको अन्तिम दिन दिदीबहिनीले दाजुभाइलाई अनि दाजुभाइले पनि दिदीबहिनीलाई सप्तरङ्गी टीकाले निदार सजाइदिने गर्छन्। दाजुभाइलाई ठाडो र दिदीबहिनीलाई भने चन्द्रमा आकारको वा गोलो टीका लगाइदिने चलन छ।
जीवन सप्तरङ्ग जस्तै उत्सवमय होस् भन्ने मनोकाङ्क्षा त छ नै, यो टीकासँगै लगाइने मखमली फूलको मालाले जीवनको जोस, जाँगर र उमङ्ग कहिल्यै नओइलाओस् भन्ने बेजोडको सन्देश पनि दिन्छ। त्यति मात्र हैन, दाजुभाइको आयु यस्तै अजम्बरी होस् भन्ने कामनाका साथ मालामा मिसाइने वा छुट्टै लगाइने दुबोको अर्थ पनि कम्ता चोटिलो छैन।
त्यति मात्र हैन, दाजुभाइको आयु लामो होस् भन्ने कामना गरेरै ढोकामा ओखर राखेर टीका विधि सम्पन्न भएपछि मात्र त्यसलाई फोरिन्छ। अनि, तेल र दुवोले छेक्दै दाजुभाइका शत्रु नाशको अपेक्षा गरिन्छ। मीठा र रसिला मसला तथा फलफूल खानु यो पर्वको अर्को फरक विशेषता हो। कान र कपालमा यमपञ्चकभर तेल लगाउने कार्यले शरीरलाई मजबुत मात्र तुल्याउँदैन,बास्नादार पनि पार्छ।
यी तथ्य प्रमाणले बोल्छन्– समग्रमा तिहार दाजुभाइ र दिदीबहिनीको खुसी बाँडचुँड गर्ने तथा समृद्धिको कामना गर्ने एउटा महान् पर्व हो। जतिबेला सँगै बसेर मीठा खानेकुरा खाने, पूजाआजा गर्ने मात्र हैन, जुवातास खेलेर समेत मनोरञ्जन लिने गरिन्छ। अरू बेला अपराध मानिने जुवातास यतिबेला भने स्वीकार्य मानिन्छ।
पिङ खेल्ने र राम्रो तथा नयाँ कपडा लगाउने काम त यतिबेला पनि भइहाल्छ। यसरी हेर्दा तिहारको टीकाले दाजुभाइ र दिदीबहिनीको सम्बन्धलाई यति मजबुत गराउँछ कि जुन बताउन शेषनागका हजार जिब्रा पनि काफी नहोलान्, सायद।
कोरोना भाइरस अलि शिथिल भएकाले पनि होला, यस पालाको तिहार विगतको भन्दा केही बढी खुसी बोकेर आएको छ। स्यानिटाइजर र मास्कदेखि डराएर पनि हुन सक्छ, ऊ टाढा भएकै कारण हामी यसपाला अलि बढी उत्साही पनि बनेका छौँ। ख्याल राख्नुपर्ने कुराचाहिँ यो छ कि पूर्णरूपमा निर्धक्क हुने अवस्था भने छैन। तर पनि तिहार न हो, उल्लास र उमङ्गसँग यस्ता कुरामा ध्यान नपुग्ने हुन सक्छ। जसतर्फ सतर्कचाहिँ हुनै पर्छ।
तिहारको शुभकामना।
from Nagarik News - Home