
ब्याक्टेरिया, भाइरसलगायतका बाह्य संक्रमण तथा शरीरमा विकास हुने आन्तरिक खराबीसँग संघर्ष गरी हामीलाई स्वस्थ राख्न प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) का विशिष्ट कोस (सेल्स) हरू संक्रिय हुन्छन्। रोगबाट जोगाउने इम्युन सिस्टमअन्तर्गतको महत्वपूर्ण प्रतिरक्षात्मक कोसलाई ‘टि सेल्स’ भनिन्छ।
जिनिस तथा नगदलाई चोरीबाट जोगाउन धेरै किसिमका ताल्चा बने। हजारौँ किसिमका ताल्चाका लागि विभिन्न किसिमका साँचो आवश्यकता पर्छ। एउटै साँचोको मद्दतले सबै ताल्चा खोल्न संभव हुँदैन। ‘लक’ को चरित्रअनुरूपको ‘कि’ आवश्यक हुन्छ। साँचोलाई आवश्यकताअनुरूप परिमार्जन गर्न सके विविध चरित्रका ताल्चा खोल्न सकिन्छ भन्ने अवधारणालाई ‘लक कि कन्सेप्ट’ भनिन्छ।
भाइरस, ब्याक्टेरियालगायतका जीवाणु तथा कीटाणुले हामीलाई संक्रमण गरिरहेको हुन्छ। असंख्य ताल्चा खोल्न विविध चरित्रका साँचो उपलब्ध भएझै लाखौँ किसिमका संक्रमणबाट जोगाउन हाम्रो शरीरमा अनगिन्ती चरित्रका ‘टि सेल्स’ हुन्छन्। दादुरा, बिफर, कालाज्वरोलगायतका हजारौँ किसिमका रोगबाट हामीलाई जोगाउन प्रतिरक्षा प्रणालीका भिन्न भिन्न ‘टि सेल्स’ ले भूमिका खेल्छन्।
सिपाही जस्तो अनवरत खटिइ हामीलाई संक्रमणबाट जोगाउने टि सेल्स को आकृति अन्य कोस भन्दा धेरै हिसाबले पृथक हुन्छ। टि सेल्स को बाहिरी भागमा साँचो आकृतिका ‘रिसेप्टर’ हुन्छन्। अनि तिनीहरूले आवश्यकताअनुरूप रिसेप्टरको बनोटलाई परिवर्तन गर्न सक्छ। फरक बनोटका रिसेप्टर भएका टि सेल्सले फरक किसिमको काम गर्छ अनि पृथक चरित्रको आपत्बाट हामीलाई जोगाउँछ। उदाहरणका लागि दादुरालाई विनाश गर्ने अनि बिफरबाट जोगाउने टि सेल्सका रिसेप्टरहरू फरक फरक हुन्छन्।
जसरी फरक किसिमको ताल्चा खोल्नका लागि प्रयोग हुने साँचोको ढाँचा फरक हुन्छ त्यसैगरी भिन्न किसिमको जीवाणु विनाशका लागि प्रयोग हुने रिसेप्टरको बनोट फरक हुन्छ। भिन्न जीव/जन्तुको शारीरिक बनोट फरक भएझै भाइरस, ब्याक्टेरियालगायत सबै जीवाणुको आकृति भिन्न हुन्छ। संक्रमणकारी सूक्ष्माणुको बाह्य आकृतिसँग मेल खाने चरित्रको रिसेप्टर भएको टि सेल्स उक्त जीवाणुसँग बेजोडसग टाँसिन्छ। टि सेल्सले हलचल गर्न नदिएपछि कीटाणु परास्त हुन्छ।
साँचो हराएका बखत ‘लक स्मिथ’ले बारम्बारको प्रयास र प्रयोगपछि उपयुक्त ढाँचाको साँचो बनाएर ताल्चा खोल्न सफल भएझै हाम्रो इम्युन सिस्टमले ‘टि सेल्स’ को साबिकको ढाँचामा चरणबद्ध परिमार्जन गरी संक्रमणकारी शक्तिको बाह्य आकृतिसँग मिल्ने प्रकृतिको रिसेप्टर बनाउँछ।
अनि सूक्ष्माणु नास गर्न सफल हुन्छ। जति छिटो टि सेल्सले उपयुक्त प्रजातिको रिसेप्टर बनाउन सफल हुन्छ त्यति छिटो बाह्य संक्रमणकारी शक्ति नासिन्छ, रोग निको हुन्छ। तर कहिलेकाहीँ ‘कोरोना भाइरस’ जस्ता अनौठो अनि बलवान जीवाणु शरीरमा पस्दा टि सेल्सले उपयुक्त चरित्रको रिसेप्टर समयमै बनाउन सक्दैन। परिणामस्वरूप व्यक्ति नराम्रोसँग थलिन्छ, मर्न पनि सक्छ।
टि सेल्स इम्युन सिस्टमअन्तर्गतको विलक्षण प्रतिभा भएको कोस हो। बाह्य देशले आक्रमण गर्ला कि भनी अहोरात्र पहरामा बस्ने सिपाही जस्तो चरित्र भएको इम्युन सेल्सले कुनै पनि किसिमको बाह्य जीवाणु तथा कीटाणुले संक्रमण गर्दामात्र होइन, बरु शरीरमा कुनै विकृतिका कारण विषाक्त वस्तु उत्पादन भएमा त्यसको समेत लेखाजोखा राख्ने र विनाशको चाँजोपाँजो मिलाउँछ।
कोस विभाजन (सेल डिभिजन) को क्रममा अणुवांसिक पदार्थ ‘डिएनए’ को बनोटमा ठूलो त्रुटि भएमा उत्पादित कोसले असामान्य चरित्र विकास गर्छ। अनि, त्यस्ता असामान्य चरित्र भएका कोसलाई प्रतिरक्षा प्रणालीले तत्कालै विनाश गर्न असफल भएको खण्डमा कालान्तरमा ती कोस ‘क्यान्सरस’ चरित्र धारण गर्ने अनि व्यक्ति अर्वुद रोगको सिकार बन्न सक्छ।
जीवनकालभर ‘सेल डिभिजन’ निरन्तर चलिरहने प्रक्रिया हो। दैनिक लाखौँको संख्यामा नयाँ कोसहरू बन्दा सानो संख्यामा विषाक्त कोसहरू बन्नु अस्वाभाविक भएन। त्रुटिपूर्ण कोसहरूले दीर्घकालीन समस्या पार्ने भएकाले त्यस्ता कोसलाई उत्पत्तिपछि नै अविलम्ब मार्ने शारीरिक संयन्त्र यथास्थानमा हुन्छ।
तर अनुशासित संयन्त्रमा कैफियत आउँदा कहिलेकाहीँ खराब कोसको संख्या बढ्छ। दूषित कोसलाई प्रतिरक्षा संयन्त्रले बाह्य संक्रमण जस्तो व्यवहार गर्छ। त्यस्तो अवस्थामा कीटाणुले आक्रमण गर्दाको अवस्थामा झैइम्युन सिस्टमले टि सेल्स लाई क्रियाशील पार्छ अनि विषाक्त कोसलाई मार्छ। शरीरमा थप क्षति हुन पाउँदैन।
तर सधैँ अवस्था एकै रहँदैन। रक्षा संयन्त्र दूषित कोसलाई विनाश गर्न असफल पनि हुन सक्छ। अनि, विसंगतिका कारण विकास भएका कोसहरू क्यान्सरजन्य पनि बन्न सक्छन्। अर्बुद कोसमासेल डिभिजन छिटो हुने भएकाले टि सेल्स ले आफुलाई परिमार्जन गर्नुअघि नै क्यान्सरस कोसले शरीरमा कब्जा जमाउँछ। क्यान्सरले जित्छ अनि इम्युन सिस्टम हार्छ।
सामान्यतः संक्रमणकारी संयन्त्रको बाह्य आकृति र टि सेल्सको रिसेप्टरको बनोट मिल्दा सत्रु नासिन्छ। तर पछिल्ला अध्ययनले टि सेल्सले परिमार्जन गरेका रिसेप्टरको आकृति क्यान्सर कोसको बाह्य बनोटसँग दुरुस्त मिल्ने देखिए पनि अर्बुद रोगका कोसिकाहरू बेदखल देखिए। ‘लक कि मेकानिज्म’ हासिल गरे पनि अर्बुद कोस नास्न इम्युन सिस्टम असफल भएको देख्दा अनुसन्धानकर्ता अचम्मित भए। आखिर रिसेप्टरहरू किन क्यान्सर सेलविरुद्ध आत्र्रmामक हुन सकेनन् भन्ने खोज अन्वेषणको विषय रह्यो।
अर्बुद कोस विनाशका हकमा अन्य अवस्थामा वरदानका रूपमा रहेको इम्युन सिस्टम सफल भएको देखिएन। क्यान्सर इलाजका हकमा ‘केमोथेरापी’ लगायतका आयुर्विज्ञानका अनुसन्धान एकपछि अर्को गर्दै असफल भए। ठूलो धनराशि अनि वर्षौँको वैज्ञानिक लगानीका अतिरिक्त सन्तोषजनक उपलब्धि हासिल भएन।
परम्परागत ‘स्मल मोलिकुल्स’ मा आधारित ओखती अनि ‘प्रोटिन तथा एन्टिबढी’ जन्य इलाजले समेत खासै सफलता हासिल गर्न नसकेपछि ‘एडभान्सड’ मेडिसिनले केही गरिहाल्छ कि भन्ने आशा छ। आखिर एडभान्सड थेरापीको क्षेत्रमा भएको अनुसन्धानले क्यान्सरको इलाजमा के भूमिका खेल्ला त? आरएनएआइ, जिन थेरापी, सेल थेरापी जस्ता पछिल्लो समयमा विकास भएका उपचार विधिहरू एडभान्सड मेडिसिनअन्तर्गत परेका छन्। रोकथाम गर्ने भन्दा पनि रोगको मुहानमै आक्रमण गरेर स्थायी समाधान खोज्ने एडभान्सड मेडिसिनको लक्ष हो।
उदाहरणका लागि ओखती तथा इन्सुलिन दिएर मधुमेह नियन्त्रण गर्ने भन्दा शरीरमा इन्सुलिन बनाउने अड्ग पेन्क्रियाजका क्षतिग्रस्त कोसलाई पुनर्जीवित गरी चिनी रोगीलाई दैनिक मेडिसिन सेवन गर्नुपर्ने बाध्यताबाट मुक्ति दिने एडभान्सड मेडिसिनको लक्ष हो।
जिन थेरापी तथा आरएनएआइले अणुवांसिक पदार्थमा आएको खराबीका कारण लाग्ने रोगको इलाज खोज्ने हो। च्यातिएको लुगालाई टालटुल गरी दर्जीले राम्रो पोशाक बनाएझै खराब अणुवांसिक पदार्थ हटाएर असल जिन बनाउने विधि हो जिन थेरापी। त्यस्तै, अणुवांशिक पदार्थमा आएको खराबीका कारण देखिने दुष्परिणाम रोक्न प्रयोग गरिने विधि आरएनए हो।
प्रारम्भिक चरणमा अणुवांशिक उपचार पद्धतिमार्फत दीर्घकालीन चुनौतीका रूपमा रहेको क्यान्सरको इलाज सहज होला भन्ने आशा थियो। तर सपना निराशामा परिणत भयो। अन्य रोगको हकमा लक्ष्य प्राप्त गर्न सफल देखिए पनि अर्वुद रोगको इलाजमा जिन थेरापीले अपेक्षित परिणाम दिन सकेन। जिन थेरापी असफल भए पनि सेल थेरापीको चरण सुरु भयो।
आधुनिक सेल थेरापीमा क्यान्सरका बिरामीको ‘टि सेल्स’ लाई टेस्ट ट्युब विधिमार्पmत ल्याबमा अणुवांशिक पदार्थ थप गरी सबलीकरण गरिन्छ। यसरी ‘इम्युनो जेनेटिक’ प्रविधिले परिमार्जन गरिएको टि सेल्सलाई काइमेरिक एन्टिजिन रिसेप्टर (कार) टि सेल्स भनिन्छ।
कार टि सेल्स विभिन्न प्रजातीका क्यान्सरका बिरामीमा परीक्षण गर्दा मिश्रित प्रतिक्रिया आयो। ब्लड क्यान्सरका बिरामी ठीक भएको देखियो भने ‘सोलिड ट्युमर’ मा उपचार निस्प्रभाव देखियो। पछिल्लो केही वर्षको अनुभवले सबलीकृत टि सेल्स ब्लड क्यान्सरका बिरामीकोे इलाजमा अब्बल देखियो।
गत हप्ताको एउटा वैज्ञानिक अन्तरक्रियामा कार टि सेल्स विधिमार्फत प्रथम चरणमा उपचार पाइ ब्लड क्यान्सरलाई जित्न सफल भएका लन्डनका म्याथ्यु मुनको अभिव्यक्ति अनि संलग्न अनुसन्धान कम्पनीका वैज्ञानिकको तर्क सुन्दा छिट्टै नै कार टि सेल्स विधिमार्फत विभिन्न किसिमका ब्लड क्यान्सरको इलाज संभव रहेको देखिन्छ।
परिमार्जित इम्युन सेल्सले किन सबै क्यान्सरलाई समानरूपले जित्न सकेन त भनी हेर्दा ब्लड क्यान्सरमा कोसहरू खुकुलो हुने अनि ‘सोलिड ट्युमर’ मा सेलहरू बाँधिएर बस्ने भएकाले परिमार्जित कार टि सेल्स ले ब्लड क्यान्सर नियन्त्रणमा सकारात्मक भूमिका खेलेको देखिन्छ।
सेल थेरापीमा परिमार्जित मानवीय कोस नै प्रयोग गर्ने भएकाले कार टि सेल्सले क्यान्सरलाई परास्त गरिसकेपछि अन्य इम्युन सेलहरूझै शरीरमा सुषुप्त अवस्थामा रहन्छ। अनि आवश्यक परेको खण्डमा उक्त परिमार्जित कोसलाई प्रतिरक्षा प्रणालीले सहजै उत्पादन गर्ने सक्ने भएकाले क्यान्सर रिल्याप्स हुने संभावना अति नै न्यून देखिन्छ।
इलाजका सम्बन्धमा कार टि सेल थेरापीले प्रथम चरणको इलाजमा हासिल गरेको सफलतालाई विचार गर्दा सबै किसिमका ब्लड क्यान्सरको उपचार क्षितिजमा रहेको भन्दा अन्यथा नहोला। औषधि परीक्षणका क्रममा यदाकदा देखिने ठूलै विपद् नआए सेल थेरापीले छिट्टै नै रोगको इलाजमा नवीन आयाम थप्ने छ।
from Nagarik News - Home