नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वमा ध्रुव थापा र करण चौधरीले प्रतिस्पर्धा गर्ने भएका छन्। मंसिर २२ र २३ गते हुने नाडाको ४५औं वार्षिक साधारणसभाले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। सोही चुनावमा उनीहरू प्यानलै खडा गरेर प्रतिस्पर्धामा उत्रेका हुन्।

नेपालका लागि फोर्स मोटरको अधिकृत बिक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष थापा र सुजुकी कारको नेपालका लागि आधिकारिक बिक्रेता सिजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक चौधरीले छुट्टाछुट्टै प्यानल घोषणा गरेर निर्वाचनमा होमिएका छन्।

अध्यक्षका पदका उम्मेदवार थापाले बिहीबार काठमाडौं पत्रकार सम्मेलन गरी आफूसहित १७ सदस्यीय प्यानल घोषणा गरेका छन्। अध्यक्षबाहेकका पदाधिकारी निर्वाचित सदस्यबाट चयन गर्ने व्यवस्था नाडाको विधानमा छ।

थापाको प्यानलमा नाडाको वर्तमान कार्यसमितिका आकाश गोल्छा, निराकर श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी, शुभाषिश थपलिया छन्। थापाले आफ्नो प्यानलमा एकजना महिला यमुना श्रेष्ठलाई समेत समावेश गरेका छन्।

थापाको प्यानलमा अमरज्योति रञ्जित, बिएन पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायणप्रसाद पौडेल, प्रदिपमान प्रधान,प्रकाश सिग्देल,रिद्धि कार्की,सगुन बिएस कंसाकार, सञ्जयकुमार खेतान लगायत उम्मेदवार छन्।

अर्का उम्मेदवार चौधरीले बुधबारै प्यानल घोषणा गरिसकेका छन्। चौधरीको प्यानलमा अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, बिक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, निलमणि पाठक, पंकज अग्रवाल,राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनिल रिजाल, बरदान बस्नेत, निसान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी,गोपाल भट्टराई र गंगाराम भट्टराई छन्।

थापाले आफ्नो प्यानलमा सबै क्षेत्रमा अनुभव हासिल गरेका सदस्यलाई समेटिएको दाबी गरेका छन्। उनले आफू निर्वाचित भएको खण्डमा नाडाका प्रदेशिक संरचनालाई अधिकारसम्पन्न गराउने, व्यवसायमैत्री वातावरण निर्माण गर्ने, सवारी साधन तथा तिनीहरूको पार्टपुर्जाको आयात, एसेम्बल र उत्पादनमा प्रस्ट नीति निर्माणको लागि सरकारसँग लबिइङ गर्ने बताए।

चौधरीले आफूले सबै क्षेत्रका प्रतिनिधिलाई समेटेर प्यानल बनाएको भन्दै अटोमोबाइल क्षेत्रको सन्तुलित ढंगले विकास गर्ने दाबी गरेका छन्। नाडामा कुल ३१ सय ९० सदस्य मतदाता छन्।



from Nagarik News - Home
Previous Post Next Post