
मोरङको सुनबर्षीबाट प्रहरीले शुक्रबार एक जना पुरुषलाई हतियारसहित पक्राउ गरेको छ। सुनबर्षी नगरपालिका–५ का ४१ वर्षीय राजकुमार मण्डललाई कटुवा पेस्तोलसहित सोही वडाको झुँगी चोकबाट शुक्रबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
‘पक्राउ परेपछि गरिएको प्रारम्भिक अनुसन्धानबाट मण्डलले भारतको भागलपुरबाट बिक्रीका लागि पेस्तोल ल्याएको खुलेको छ,’ मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भने, ‘नेपाल भित्राएपछि विभिन्न अपराधमा संलग्न व्यक्ति र समूहलाई बिक्री गर्ने गरेको खुले पनि उसँग हतियार किन्नेको भने अझैसम्म पहिचान हुन सकेको छैन।’
मण्डलले कम्मरमा भिरेर मदिरा पसल पुगेको देखेपछि स्थानीयले खबर गरेको प्रहरीले जनाएको छ। मण्डलको साथबाट प्रहरीले एउटा कटुवा पेस्तोल, दुईवटा गोली, १९ हजार तीन सय २५ रुपैयाँ नगद र मोबाइल बरामद गरेको छ। हातहतियार खरखजना ऐनअन्तर्गतको मुद्दा चलाउन मण्डललाई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
from Nagarik News - Home