ललितपुर महानगरपालिकाले माहानगरभित्रका सबै विद्यालयहरू पुसको पहिलो सातादेखि खोल्ने निर्णय गरेको छ। महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको अध्यक्षतामा मंगलबार बसेको महानगर शिक्षा समितिको बैठकले कोरोना भाइरस (कोभिड –१९)को जोखिमका कारण आठ महिनादेखि बन्द विद्यालय पुसको पहिलो सातादेखि विद्यालयमै विद्यार्थी बोलाएर पढाउने निर्णय गरेको शिक्षा समितिका सदस्यसचिव महेन्द्र क्षत्रीले जानकारी दिएका हुन्।
‘महानगरभित्रका विद्यालयले शिक्षण सिकाइका वैकल्पिक माध्यम अनलाइन कक्षा सञ्चालन गरे पनि प्रभावकारी भएन। बालबालिकाको सिकाइमै नकारात्मक असर परेर सिकाइ नै भएन,’ सदस्यसचिव क्षत्रीले नागरिकसँग भने, ‘सरकारले कात्तिक २० गते जारी गरेको विद्यालय पुनः सञ्चालन कार्य ढाँचामा आधारित रहेरै महानगर शिक्षा समितिले विद्यालयमा बालबालिका बोलाएर पठनपाठन गराउने निर्णय गरेको हो।’
उनका अनुसार विद्यालयले आफनो भौतिक पूर्वाधार, विद्यार्थी संख्या र शिक्षण सिकाइको वातावरणलाई दृष्टिगत गरी विद्यालय व्यवस्थापन समितिको निर्णबाट विद्यालय सञ्चालन गर्न अधिकार विद्यालयलाई नै दिएको छ। उनका अनुसार ललितपुर महानगरभित्र कुल २ सय ४० विद्यालय रहेका छन्। तीमध्ये ४० सामुदायिक र २ सय संस्थागत सञ्चालनमा छन्। महानगरभित्र कुल ७५ हजार विद्यार्थी रहेका छन्। तीमध्ये सामुदायिकमा १७ हजार अध्ययनरत छन्। उनले विद्यालयहरूले सञ्चालन गरेको अनलाइन कक्षामा विद्यार्थीहरूलाई समेट्न नसकेकोले स्कुलहरू खोल्नेतर्फ महहानगर गएको बताए।
उनले नेपाल सरकारले तोकेको सबै स्वास्थ्यका मापदण्ड अपनाएर विद्यालय खोल्ने अधिकार विद्यालय व्यवस्थापन समितिलाई दिएको बताए। ‘दिनदिनै मास्क लगाएर आउन नसक्ने विद्यालयहरूमा बालबालिकाका लागि महानगरले मास्क, सेनिटाइजर, साबुन र पानीको समेत व्यवस्था गर्नेछ,’ क्षत्रीले निर्णय सुनाउँदै भने, ‘थोरै विद्यार्थी भएका विद्यालय मंसिर २५ बाटै पनि खोल्न सक्छन्,’ उनले थपे, ‘विद्यालयमा विद्यार्थी कति राख्ने, आलोपालो कसरी गर्ने निर्णय व्यवस्थापन समितिकै हुन्छ।’
शिक्षक महासंघ ललितपुर महानगरपाकिालका अध्यक्ष राजेन्द्र तिमिल्सिनाले अनलाइन शिक्षाले बालबालिकामा डिप्रेसन बढाएको अभिभावकको गुनासो रहेको बताए। उनले पढाउने प्रभात माविमा ११ सय विद्यार्थी अध्ययनरत छन्।
लामो समयदेखि विद्यालय बन्द हुँदा बालबालिकामा संवेगात्मक र भावनात्मक विकासको कमी हुँदै गएको अभिभावकको गुनासो आएको उनले बताए। ‘धेरै विद्यार्थी भएका विद्यालयमा सिफ्ट र आलोपालो गर्ने निर्णय भएको छ,’ शिक्षा समितिका सदस्यसमेत रहेका तिमिल्सिनाले भने, ‘बढीमा दिनको तिन घन्टा र हप्ताको तीन दिन पढाउने निर्णय भएको छ।
from Nagarik News - Home