कोरोना महामारीमा वाणिज्य बैंकहरूको नाफा घट्ने अनुमान विपरीत झनै बढेको छ। चालु आर्थिक वर्षको नौ महिना (साउन–चैत) मा २७ वाणिज्य बैंकहरूले पौने ५१ अर्ब रूपैयाँ नाफा गरेका छन्। कोरोना महामारीका कारण अघिल्लो वर्ष बैंकहरूको नाफा घटेकाले यो वर्ष पनि घट्न सक्ने अनुमान थियो। गत वर्ष सोही अवधिमा ती बैंकहरूले करिब ४४ अर्ब ७० करोड रूपैयाँ खुद नाफा गरेका थिए।
बैंकरहरूले गत आर्थिक वर्षको तुलनामा अहिले नाफा वृद्धि हुनुमा कोरोनाबाट अनुभव लिएर काम गर्नुलाई लिएका छन्। यस अवधिमा २१ बैंकले नाफा बढाएका छन् भने ६ वटाको घटेको छ। तेस्रो त्रैमासमा सबभन्दा बढी नाफा नबिल बैंकले गरेको छ। साउन–चैतसम्म नबिलले तीन अर्ब ६७ करोड रूपैयाँ नाफा कमाएको छ। त्यस्तै, एनआइसी एसिया, राष्ट्रिय वाणिज्य र ग्लोबल आइएमई बैंक पनि तीन अर्ब रूपैयाँभन्दा बढी कमाउन सफल भएका छन्। नाफा घटाउनेमा स्ट्यान्डर्ड चार्टर्ड, एनसिसी, एसबिआई, एभरेस्ट, हिमालयन र सेन्चुरी बैंक छन्।
धेरै नाफा बढाउनेमा एनएमबि सबभन्दा अगाडि छ। उक्त बैंकले ८८ प्रतिशत नाफा बढेको विवरण सार्वजनिक गरेको छ। कोरोना महामारीमा उद्योगी–व्यवसायीलाई साँवा तथा ब्याज भुक्तानीका लागि नेपाल राष्ट्र बैंकले कर्जा पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने सुविधा दिएका कारण धेरैले यस्तो नीति आउँदा बैंकहरूको नाफा घट्ने अनुमान गरेका थिए। तर कतिपय बैंकर सोही नीतिका कारण कर्जा बिग्रन नपाएर बैंकहरूलाई सहज भएको बताउँछन्।
‘कोरोना प्रभावित उद्योगी, व्यवसायीलाई लगानी गरिएको कर्जा तुरुन्त उठाउन खोजेको भए समस्या झनै बढ्थ्यो,’ ती बैंकरले भने, ‘राष्ट्र बैंकले ल्याएको सहुलियत कर्जाको नीतिले तत्काल उद्योगी, व्यवसायीलाई सहज भयो। पछिल्लो समय बैंकहरूलाई।’ यसै बेला राष्ट्र बैंकले करिब दुई सय अर्ब रूपैयाँ पुनर्कर्जा दिने व्यवस्था मिलाउँदा बैैकहरूलाई थप फाइदा पुगेको उनको भनाइ छ। ‘विगतमा सधैं तरलता अभाव हुने गरेकोमा पुनर्कर्जाको व्यवस्थाले यसपटक तरलता अभाव हुन पाएन,’ उनले भने, ‘यसले गर्दा बैंकहरूलाई लगानीयोग्य रकम जुटाउन कठिन भएन।’ हालसम्म राष्ट्र बैंकले एक खर्ब ३० अर्ब रूपैयाँभन्दा बढी पुनर्कर्जा दिइसकेको छ।
from Nagarik News - Home