४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङ परीक्षणको लागि सेटलिङ बेसिन (बालुवा थिग्राउने पोखरीमा) पानी छोडिएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्बाङले संयुक्त रूपमा आयोजनाको स्विच थिचेर सुरुङमा पानी खसालेका हुन्।

माथिल्लो र तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान कार्य सकिएसँगै पानी परीक्षण गर्न लागिएको हो। बिहीबार अपराह्न १२ बजे उच्चस्तरीय सरकारी टोलीको उपस्थितिमा आयोजनाको बाँधबाट सेटलिङ बेसिनमा पानी छाडेर परीक्षण गरिएको होे। अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रवक्ता गणेशप्रसाद न्यौपोनले आयोजनाको बाँधबाट सेटलिङ बेसिनमा पानी छाड्न सुरु गरिएको बताए। ‘मन्त्रीज्यूहरूको उपस्थितिमा आयोजनाको बाँधबाट सेटलिङ बेसिनमा पानी छाड्न सुरु गरिएको छ,’ उनले भने, ‘बिहीबार रातिसम्म सेटलिङ बेसिन भरिएर सुरुङमा पानी जान थाल्नेछ।’

आयोजनाका अनुसार सेटलिङ बेसिन भरिन ६ घन्टा जति लाग्नेछ। प्रवक्ता न्यौपानेले सुरुङमा पानी हालेपछि आवश्यक परीक्षण गरेर विद्युत् उत्पादन प्रक्रिया सुरु गरिनेछ। आयोजनाका अनुसार सुरुङमा पानी भरिन एक सातादेखि १० दिन लाग्नेछ। गत बुधबारदेखि निर्माणाधीन आयोजनाको बाँधमा पानी संकलन सुरु गरिएको थियो। मुख्य निर्माण अन्तर्गत बाँध/इन्टेक, मुख्य सुरुङ, विद्युत्गृह, टेलरेस सुरुङ लगायत सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ। जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेक लगायत सिभिल संरचनाहरू र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणको सफलतापूर्वक प्राविधिक परीक्षण भइसकेको छ।



from Nagarik News - Home
Previous Post Next Post