जनता समाजवादी पार्टी (जसपा) भित्रको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले केपी ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। सरकारलाई विश्वासको मत नदिने निर्णय गरिएको पार्टी अध्यक्ष यादवले बताए। ‘केपी ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय हामीले गरेका छौं’, यादवले भने, ‘यस विषयमा पार्टीमा औपचारिक निर्णय गर्न बाँकी नै छ।’

स्रोतका अनुसार यादवले यस विषयमा बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका नेता माधव नेपालसँग पनि छलफल गरेका छन्। यादवलाई भेट्न दाहाल र नेपाल उनको निवास हात्तीवन पुगेका थिए। यादवले भने दाहाल र नेपालसँग भेट नभएको दाबी गरे। यादव अहिले ओली सरकारविरुद्ध पार्टीभित्र बहुमत जुटाउन सक्रिय छन्। स्रोत भन्छ, ‘यादवले ओली सरकारको विपक्षमा जसपाका बहुमत सांसद रहेको जानकारी दाहाल र नेपाललाई गराएका छन्।

यादव यतिखेर दाहाल र नेपालसँग नियमित सम्पर्कमा रहेको उनी निकट एक नेताले बताए। केही दिनअघि उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए। स्रोतका अनुसार ओली सरकारको विपक्षमा भट्टराई–यादव पक्षले आफू निकट सांसदको हस्ताक्षर संकलन गरेको छ। यसैगरी पार्टी कार्यकारिणी समितिका सदस्यहरूको समेत हस्ताक्षर संकलन गरिएको छ।

जसपाको भट्टराई–यादव खेमा ओली नेतृत्वको सरकार ढाल्नुपर्छ भन्ने लाइनमा छ। तर जसपाको अर्को पक्षले वर्तमान सरकार विरोधी गठबन्धनमा सहभागी नहुने सहमति प्रधानमन्त्री ओलीसँग गरेको छ। यसको नेतृत्व जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले गरेका छन्। ठाकुर–महतो पक्षका नेता सुरेन्द्र झाले ओलीलाई विश्वासको मत नदिने निर्णय पार्टीले नगरेको बताए। ‘कसैले व्यक्तिगत रूपमा के भन्छ, त्यो अलग हो तर पार्टीले ओली सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छैन’, झाले भने।

प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन्। तीमध्ये दुईजना हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा छन्। बाँकी ३२ सांसदमध्ये पूर्वराजपा खेमाका १६ र पूर्वसमाजवादी खेमाका १६ जना छन्। ५१ सदस्यीय कार्यकारिणी समितिमा रहेका पूर्वराजपा खेमाका महेन्द्र यादव, प्रदीप यादव र गजाधार यादव भट्टराई–यादव कित्तामा पुगेका छन्। जसपाभित्र भट्टराई–यादवले पूर्वसमाजवादी खेमाको अगुवाइ गरेका छन्। तत्कालीन राजपा र समाजवादी पार्टी नेपाल मिलेर जसपा बनेको हो। भट्टराई जसपा संघीय परिषद्का अध्यक्ष हुन्।

यसैगरी पूर्वराजपा खेमाका सांसद महेन्द्र यादव पनि कित्ता परिवर्तन गरी भट्टराई–यादव खेमामा पुगेका छन्। भट्टराई–यादव पक्षले पूर्वराजपाका अर्का एक सांसदलाई पनि आफूतिर ल्याएको दाबी गरेको छ। तर भट्टराई–यादव पक्षका नेताहरू कित्ता परिवर्तन गरेका ती सांसदको नाम खुलाउन चाहँदैनन्। ठाकुर–महतो पक्षले पनि पार्टी र संसदीय दलमा आफू बहुमतमा भएको दाबी गरेको छ।



from Nagarik News - Home
Previous Post Next Post