
म्याग्दी सदरमुकाम बेनीमा चिनीको मूल्यमा मनपरी हुन थालेको छ। कोरोना भाइरस संक्रमणको जोखिमसँगै बेनी बजार तथा आसपासमा क्षेत्रमा केही व्यापारीले चिनी किलोको सय रूपैयाँसम्म लिने गरेको पाइएको हो। चिनी ल्याइने जिल्लामा धमाधम लकडाउन र निषेधाज्ञा जारी हुन थालेपछि अभाव भएको भन्दै किलोमा १५ रूपैयाँसम्म बढी लिन थालेको स्थानीयको गुनासो छ।
बेनी नगरपालिकाभित्र बुधबार राति १२ बजेदेखि निषेधाज्ञा जारी भएसँगै उपभोग्य वस्तुमा अचाक्ली मूल्य लिन थालिएको भन्दै विरोध समेत भएको छ। ‘चिनीको अभाव सुरु भएको छ, अब पाइँदैन भनेपछि सय रूपैयाँ तिरेँ’ उपभोक्ता कृष्ण पौडेलले भने। चिनीलाई एक साताअघि किलोको ९० रूपैयाँसम्म तिरेको र अहिले १० रूपैयाँ बढेको उनले बताए।
म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले तोकिएभन्दा बढी मूल्य लिएर बिक्री गरेको पाइए जानकारी दिन भनेका छन्। ‘सबै व्यवसायीले मनपरी मूल्य लिएका छैनन्, लिएको जानकारी हामीलाई दिनुहोस्,’ उनले भने। उनले तेलको मूल्य उद्योगबाटै बढेर आए पनि चिनीको मूल्य बढेको गुनासोप्रति ध्यानार्कषण भएको बताए।
प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले मनपरी मूल्य लिनेलाई कारवाहीको दायरामा ल्याउने बताए। ‘तोकिएको बजार मूल्यभन्दा एक रूपैयाँ बढी लिन पाइँदैन, छड्के अनुगमनमा निस्कन्छौं,’ प्रजिअ अधिकारीले भने।
from Nagarik News - Home