श्रद्धा भट्टराई

ए तिमी त बुहारी !

बिर्सिन्छौ तिमीले अल्छी गर्नु हुँदैन

झुक्किएर आराम गर्न मन लाग्ला

तर अल्छीको पगारो बोक्नु हुँदैन

सबैको चाहना अनुसार पकाउनुपर्ने

तिमीले आफ्नो स्वाद सम्झिनु हुँदैन

आफ्नो स्वाद खान मन त लाग्छ होला

तर लोभीको पगारो खेप्नु हुँदैन

यसरी हैन, त्यसरी गरूँ भन्दा

धेरै जान्ने भइहाल्छौ

खुब पढेको धाक दिएको होला

भन्ने खबर पाइहल्छौ

लौ त बोल्दिन भन्यो

फेरि कस्ती घमण्डी हो भन्छन्

केही गरेर सुख पाएनौ तिमीले

तिम्रो मर्म यहाँ कसले पो बुझ्छन्

बाबाको इज्जत राख्नुपर्छ

सानै देखि सिकी आएको

इज्जत सम्झिदा, आफूलाई बिर्सेको

खै ! कसले यहाँ चाल पाएको?

तिमी अर्काकी घरकी छोरी..

के भन्छन् समाजले ?

यही गीत कति गाउनु

बुहारी पनि मान्छे हो

उसको भाव यहाँ कसलाई सुनाउनु

घरका छोरालाई केही छैन यहाँ

सबै नियम बुहारीलाई

किन यस्तो बनायौ दैव तिमीले

छैन दया हामीलाई?

बाबाको घर धेरै नजाऊ भन्छन्

तर कसले बुझ्ने तिम्रो जन्म घर हो त्यो

जुन घरले तिमीलाई मान्छे बनायो

तिम्रो स्वर्गको महल हो त्यो

खोल कुण्ठा – बोल तिमी

नलुकाऊ मनमा राखी

भलै भनून् चोथाली तिमीलाई

तर मर्नुभन्दा बोल्नु जाती

समाजले बन्देज बनाए पनि

तिम्रा आफ्ना अनेक इच्छा छन्

पूरा गर हरेक ती इच्छा

यहाँ भन्नेलाई कसले रोक्न सकेका छन्

यहाँ भन्नेलाई कसले रोक्न सकेका छन् ।



from Nagarik News - Home
Previous Post Next Post