
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बिहीबार सातै प्रदेशको अधिवेशन सुरु भएको छ। मुलुक संघीयतामा भएपछि पहिलोपटक पार्टीलाई संघीय संरचना ढाल्दै कांग्रेसले अधिवेशनको उद्घाटन गरेको हो।
प्रदेश १ बाहेक कांग्रेसको ६ वटै प्रदेशको अधिवेशन बिहीबार उद्घाटन गरिएको हो। प्रदेश १ को अधिवेशन भने शुक्रबार मात्र हुने भएको छ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट प्रदेश अधिवेशनको उद्घाटन गरेका हुन्। राजधानीमै रहेका देउवाले सुदूरपश्चिम प्रदेशको अधिवेशन काठमाडौंबाट उद्घाटन गर्नुका साथै ‘उत्साह, एकता,रूपान्तरण, सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन!’ उल्लेख गरिएको महाधिवेशनको नयाँ लोगो पनि सार्वजनिक गरेका छन्।
तर,अन्य शीर्ष नेताहरू भने आआफ्नो प्रदेशको राजधानी पुगेर अधिवेशनमा सहभागी भएका छन्। पार्टी नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला गण्डकी प्रदेशको अधिवेशन उद्घाटन समारोहमा सहभागी हुन पोखरा पुगेका छन्।
उपसभापति विमलेन्द्र निधिले प्रदेश २ को महाधिवेशन उद्घाटन गरेका छन्। वाग्मती प्रदेशको हेटौंडामा सुरु अधिवेशनको पूर्वमहामन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका छन् भने सहमहामन्त्री प्रकाशशरण महत पनि हेटौंडा नै पुगेका छन्।
कर्णाली प्रदेशको अधिवेशन उद्घाटन महामन्त्री पूर्णबहादुर खड्काले गरेका छन्। अधिवेशनको उद्घाटन सत्रमा नबोलाएको भन्दै संस्थापन इतर समूहले उद्घाटन सत्र बहिष्कार गरेको छ। प्रदेश १ को भने बिहीबार अधिवेशन उद्घाटन हुन सकेन।
पार्टीले प्रदेश अधिवेशन गर्ने जिम्मेवारी तोकेर पठाएको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला अधिवेशन आयोजक मोरङ जिल्ला सभापतिबीच समन्वय अभावले बिहीबार उद्घाटन हुन नसकेको हो। तर, पूर्वमहामन्त्री सिटौलाले मोरङ जिल्ला अधिवेशनको मतगणना नसकिएकाले प्रदेश अधिवेशन उद्घाटन शुक्रबार बिहानका लागि सारिएको सञ्चारकर्मीसँग दाबी गरे।
अधिवेशनको उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले निकट भविष्यमा हुने तीन तहको निर्वाचनमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
पार्टीको १४औं महाधिवेशनअन्तर्गत तल्लो तहबाट आन्तरिक प्रतिस्पर्धाले उब्जाउने प्रतिस्पर्धाले आगामी निर्वाचनमा असर पर्ने आकलन गरिएका बेला देउवाले पार्टीभित्रको आन्तरिक चुनाव स्वाभाविक भएको बताए।
त्यसमा नअलमलिन आग्रह गर्दै देउवाले पार्टीका नेता तथा कार्यकर्तालाई भने, ‘हामी केही समयभित्र स्थानीय,संघ र प्रदेशको निर्वाचनमा जाँदैछौं। त्यसैले पनि अधिवेशनलगत्तै हाम्रो ध्यान चुनावतर्फ केन्द्रित हुनुपर्छ। हाम्रा आन्तरिक चुनावमा हुने जित र हार स्वाभाविक प्रक्रिया हो, लोकतान्त्रिक अभ्यास हो।’ पहिलोपटक हुन गएको प्रदेश अधिवेशनले पार्टीलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्दै उनले लोकतन्त्र बलियो भए मात्रै मुलुकको विकास र समृद्ध सम्भव हुने दाबी गरे। त्यसका लागि कांग्रेसले नै आगामी निर्वाचन जित्नुपर्ने देउवाको जिकिर थियो।
वाग्मती प्रदेशको अधिवेशन उद्घाटन गर्दै पूर्वमहामन्त्री प्रकाशमान सिंहले कमजोर नेतृत्वको कारण पार्टी अहिलेको अवस्थामा पुगेको बताए। नयाँ नेतृत्व चयन गर्दा ध्यान पुर्याउन पार्टी नेता तथा कार्यकर्तालाई सुझाउँदै सिंहले भने, ‘नेतृत्व चयन गर्दा होस् नपुर्याउने हो भने पार्टी कमजोर हुन्छ। नेतृत्व चयन गर्दादेखि नै तपाईंहरूले ध्यान पुर्याउनुहोला।’
कहाँ को उम्मेदवार?
वाग्मती प्रदेश सभापतिमा संस्थापन पक्षबाट इन्द्र बानियाँ र इतर पक्षबाट जगदीश्वरनरसिंह केसी प्रतिस्पर्धामा छन्।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधानले उम्मेदवारी घोषणा गरेका छन्। बानियाँको पक्षमा प्रधानलाई मनाउने प्रयास भइरहेको निकटहरूले जनाएका छन्।
प्रदेश २ का कतिपय जिल्लामा प्रदेशसभा क्षेत्रको अधिवेशन नसकिएकाले उम्मेदवारी मनोनयन नै शनिबारका लागि सारिएको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए। ‘प्रदेश अधिवेशन नै बाँकी रहेकाले भोलि (शुक्रबार) रेस्ट छ,’उनले भने, ‘पर्सि मात्र नयाँ नेतृत्वका लागि मनोनयन हुन्छ।’
प्रदेश १ मा संस्थापन पक्षले पूर्वमहामन्त्री सिटौलानिकट नेता उद्धव थापालाई सभापतिमा सहयोग गर्ने भएको छ। संस्थापन इतरबाट पार्टी केन्द्रीय सदस्यसमेत रहेका युवा नेता गुरुराज घिमिरेलाई अघि सारिएको छ।
गण्डकी प्रदेशबाट संस्थापन पक्षबाट अर्जुनप्रसाद जोशीलाई अघि सारिएको छ भने संस्थापन इतरबाट शुक्रराज शर्मा मैदानमा खडा भएका छन्। त्यस्तै, लुम्बिनीबाट संस्थापन पक्षबाट भरत शाह र इतर पक्षबाट अमरसिंह पुन उम्मेदवार भएका छन् भने कर्णालीबाट राजिवविक्रम शाह संस्थापन र इतर पक्षबाट भूपेन्द्र शाही उम्मेदवार छन्।
सुदूरपश्चिम प्रदेशमा बिहीबार सहमतिका लागि प्रयास गरिए पनि दुवै पक्ष आआफ्नो अडानमा कायम छन्। साँझ आआफ्नो पक्षको समूह निर्माणमा संस्थापन र इतर पक्ष सक्रिय भएका छन्।
केन्द्रीय सदस्य बद्री पाण्डेले भने, ‘उम्मेदवारी मनोनयन भोलि (शुक्रबार) भएकाले आआफ्नो गृहकार्यमै छौं।’ शुक्रबार प्रदेश कार्यसमितिका लागि मनोनयन र शनिबार निर्वाचनको कार्यतालिका सार्वजनिक गरे पनि स्थानीय आवश्यकताअनुसार प्रदेश निर्वाचन समितिलाई कार्यतालिका हेरफेरको अधिकार दिइएको छ।
from Nagarik News - Home