राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका कमल थापा र राजेन्द्र लिङदेनले निर्वाचनबाट छानिने पदाधिकारीका लागि बिहीबार आआफ्नो टिम घोषणा गरेका छन्।

महाधिवेशनको दोस्रो दिन दुवै पक्षले पदाधिकारीको टिम घोषणा गरेका हुन्। राप्रपा नेता भुवन पाठकका अनुसार शुक्रबार बिहान उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम छ। उम्मेदवारी मनोनयन कार्यक्रम सकिएलगत्तै मतदान सुरु हुनेछ। उनका अनुसार मतदानमा विद्युतीय मेसिन प्रयोग गरिनेछ।

थापाको टिममा उपाध्यक्षमा बुद्धिमान तामाङ, धु्रवहादुर प्रधान र महिलातर्फ रोशन कार्कीको नाम राखिएको छ। यसैगरी लिङदेन पक्षबाट उपाध्यक्षमा दिलविकास राजभण्डारी, रामचन्द्र राय र महिलातर्फ लिला श्रेष्ठलाई राखिएको छ। विक्रम पाण्डेलाई दुवै पक्षले उपाध्यक्षमा राखेका छन्।

थापा पक्षका नेता तामाङले आफ्नो टिमबाट उपाध्यक्षमा पाण्डेलाई राखिएको जानकारी दिँदै भने, ‘सतप्रतिशत उहाँ हाम्रो टिमको हो। उहाँको नाम राखेर हामीले पोस्टरसमेत छापिसक्यौं।’ लिङदेन पक्षका नेता धवलशमसेर राणाले पनि पाण्डे आफ्नो टिमबाट उपाध्यक्षको उम्मेदवार भएको दाबी गरे।

‘कसले के भन्छन्, त्यो बेग्लै कुरा हो तर उहाँ हाम्रोतर्फबाट उपाध्यक्षको उम्मेदवार हो’, उनले भने। यसबारे सम्पर्क गर्न खोज्दा पाण्डे सम्पर्कमा आएनन्। उनले आफू बैठकमा व्यस्त भएको जानकारी पठाए।

थापा पक्षले महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाहीलाई राखेको छ। यसैगरी लिङदेन समूहले महामन्त्रीमा राणा,श्याम तिमिल्सना र रेखा थापालाई उम्मेदवार बनाउने भएको छ। नायिका समेत रहेकी थापाले आफ्नो प्रचारप्रसार सुरु गरेकी छन्।

राप्रपाको विधानमा निर्वाचनबाट ४ जना उपाध्यक्ष र ३ जना महामन्त्री चयन गर्ने व्यवस्था छ। तीनजना महामन्त्रीमध्ये एक महिला हुनुपर्ने विधानको व्यवस्था छ। १९९ सदस्यीय केन्द्रीय समितिका लागि १ सय ४९ जना निर्वाचनबाट चुनिने र ५० जना मनोनीत हुने विधानमा छ।

एकता महाधिवेशनपछि राप्रपामा एकजना मात्र अध्यक्ष रहनेछन्। हालका तीन अध्यक्षमध्ये पशुपतिशमसेर राणा र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्वका लागि उम्मेदवारी नदिने भएका छन्। अर्का अध्यक्ष थापाले भने सो पदमा उम्मेदवारी घोषणा गरी आफ्नो टिम बनाएका छन्। लोहनीले लिङदेनलाई समर्थन गरेका छन् भने राणा अझै कतै खुलेका छैनन्।

राणाले राप्रपामा एकता कायम राख्न आफूले उम्मेदवारी नदिने बताएका छन्। लिङदेन पक्षका कार्यकर्ताले पूर्वराजा ज्ञानेन्द्रको समर्थन रहेको भन्दै प्रचारप्रसार सुरु गरेका छन्। यसबारेमा पूर्वराजा निकट आधिकारिक व्यक्तिहरू भने केही बोलेका छैनन्।

महाविधेशनमा देशभरबाट ४ हजार ७ सय प्रतिनिधि सहभागी छन्। प्रदेश २ बाट एक हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि छन्। त्यसैले प्रदेश २ का प्रतिनिधि नयाँ नेतृत्वका लागि निर्णायक हुने दुवै पक्षको विश्लेषण छ।

अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्न १ लाख, उपाध्यक्षमा ७५ हजार, महामन्त्रीमा ५० हजार र केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्न १५ हजार रूपैयाँ शुल्क तोकिएको छ।

राप्रपा अध्यक्ष थापाले बिहीबार बन्दसत्रमा पेस गरेको राजनीतिक प्रतिवेदनमा संसद्को परिधि र नियन्त्रणअन्तर्गत राष्ट्रिय र सांस्कृतिक एकताको प्रतीकको रूपमा संवैधानिक राजतन्त्रलाई अंगीकार गर्ने उल्लेख छ। राप्रपाले हिन्दु राष्ट्रलाई पनि मूल अजेन्डा बनाएको छ।



from Nagarik News - Home
Previous Post Next Post